काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव भएको बताएका छन् ।
शनिबार ललितपुरको जावलाखेलमा आयोजित दाहाल–नेपाल निकट शिक्षकहरूको राष्ट्रिय भेलामा दाहालले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फेरि सहमति हुन्छ हुँदैन भन्ने व्यक्तिगत रुपले नभई विचारगत रुपले हेर्नु पर्ने दाहालको भनाई छ । आफुहरुको विचारमा एकता भए मात्र फेरि एकता हुन सक्ने उनले बताए ।
त्यसैगरी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आफुलाई दुई नम्बरी बनाएको समेत टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले आफुलाई कुनै पनि बैठकको अध्यक्षता समेत गर्न नदिएको भन्दै आलोपालो अध्यक्षता गर्ने सम्झौतालाई नमानेको समेत उल्लेख गरे ।




