सरकार विरुद्ध आश्चर्यजनक ढंगले प्रतिकारमा उत्रने गगन थापाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकार विरुद्ध आश्चर्यजनक ढंगले प्रतिकारमा उत्रने गगन थापाको चेतावनी

काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत काम विरुद्ध सडक र सदन संघर्ष गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा सुधार लगायतका विषयमा आफुहरुले उठाएको मागलाई दुईतिहाईकोे दम्भ र अंहकारबाट मिच्ने काम गरेको भन्दै कांग्रेसले सरकारका गतल काम विरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएको हो ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले सरकारका गलत काम विरुद्ध आश्चर्यजनक ढंगले प्रतिकारमा उत्रने चेतावनी दिए । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा सरकारले प्रतिपक्षी दलका नेतालाई छल्ने काम गरेको भन्दै उनले सरकारका हर गलत काम विरुद्ध कांग्रेस उभिने चेतावनी दिए । उनले चिकित्सा शिक्षा सुधारमा अवरोध पुर्याउन खोज्ने हरेक कदमलाई कांग्रेसले रोक्ने बताए ।

उनले भने “हामीले सरकारले प्रतिपक्षी दलसंग गरिएको व्यवहार सम्झिरहने छौ । सरकार संसारलाई आश्चर्य चकित बनाउने काममा लागिरहोस् । प्रतिपक्षी देखिएन भनेको होइन सरकारले ? प्रतिपक्षी सुनिएन भनेको होइन सरकारले ? भोलि देखि सडकबाट पनि सदनबाट पनि सरकारलाई प्रतिपक्षी कहाँ छ ? भनेर पनि देखाउँछौ । र अब सरकारलाई आश्चर्यचकित पार्ने पालो हाम्रो । सरकारलाई प्रतिपक्षी देखाएर प्रतिपक्षी कस्तो हुँदो रहेछ भनेर आश्चर्य पार्छौ ।”

संविधानको सार्थक कार्यान्वयनको पक्षमा आफुहरु रहेको भन्दै उनले सरकारका काम कारवाहीले श्रृजना गरेको आक्रोशले उपलब्धिलाई ध्वस्त पार्ने खतरा औल्याए । सरकारका कामकारवाहीबाट जनताको आक्रोशित र निरास बनेको भन्दै उनले कांग्रेसले जनताको आक्रोशलाई सरकारसम्म पुर्याउने जिम्मेवारी पुरा गर्ने बताए ।

उनले भने “सरकारको असक्षमता र अंहकारले एक पछि अर्को निम्त्याको घटना र काण्डले गर्दा हामीलाई चिन्ता लाग्न थालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र प्रति त्यो आक्रोश नतेर्सियोस् । सरकारले श्रृजना गरेको निरासाको आगोमा कोही रोटी सेक्न नआओस् । जातका नाममा धर्मका नाममा झण्डा बोकेर नआओस् ।”

चिकित्सा शिक्षामा देखिएका थुप्रै अनियमिता विरुद्ध उत्रिएका डाक्टर गोविन्द केसी विरुद्ध विरोधका बाबजुत चिकित्सा शिक्षा विधेयक पास गरेर सरकारले दुई तिहाईको क्षमता प्रदर्शन गरेको भन्दै उनले सरकारलाई बधाई दिए । उनले भने “जोगी डाक्टरले सरकारसंग निहुँ खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसंग । यस्तो बलियो सरकारसंग । सरकारले देखाईदियो । सरकारलाई बधाई छ ।”

डाक्टर केसीको माग विरुद्ध सरकारले ल्याएको विधेयकबाट चिकित्सा शिक्षामा अनियमिता गर्नेहरु, त्यसलाई प्रश्रय दिने र सरकारमा रहेको दल नेकपाका सांसद पनि खुसी भएको उनले टिप्पणी गरे । उनले भने “लोकमानसिंह कार्की देखि लिएर कालिकास्थानको टहरामा गएर मेडिकल कलेज संञ्चालन गर्नेसम्म सरकारले डाक्टर केसीलाई देखाई दिएकोमा खुसी भएका छन् । यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ ।”

उनले भुमिहिन दलितका लागि, बालबालिकाको हक हितका लागि, शिक्षामा राज्यको भुमिका बढाउने सवालमा नदेखिएको सरकारको दुई तिहाईको दम्भ चिकित्सा शिक्षा विधेयक पास गर्नमा देखिएको बताए । उनले भने “कमरेड मनमोहनका लागि दुई तिहाई देख्न नपाएपनि कमरेड मार्सीमोनका लागि दुई तिहाई देख्न पाईयो सरकार र सरकारको दललाई बधाई ।”

आफैले गरेको सहमति कार्यान्वयन नगरेर सरकारले डाक्टर केसीलाई माग पुरा नभईकन अनसन तोड्नुपर्ने अवस्था श्रृजना गर्नुले स्वयम प्रधानमन्त्री प्रतिको जनताको विश्वास गुमेको उनको टिप्पणी छ । उनले भने “प्रधानमन्त्री प्रतिको विश्वास सुत्यो । प्रधानमन्त्री प्रतिको विश्वास ढल्यो । यो ढलेको विश्वासलाई कसले उठाईदिने ? प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो पानी कल्ले हाल्दिने ? संसार आश्चर्य चकित भएको छ यस्तो वितण्डावादी तर्क, वाकछलवादी प्रवृति देखेर जनता दिक्क भएका छन् आक्रोशित भएका छन् ।”

संकटापन्न अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सुधार तथा शान्ति सुरक्षाको प्रत्याभूति दिने विषयमा सरकार गैह् जिम्मेवार र संवेदनशिलहिन भएको टिप्पणी गर्दै उनले भने “अर्थतन्त्र यस्तो संकट उन्मुख भएको छ । कुनै पनि बेलामा गल्र्यामर्गुलुम ढल्ला भन्ने जस्तो भएको छ । सरकार कुनै सार्थक पहल गर्दैन । विश्वास जगाउनका निम्ति कुनै हस्तक्षेप गर्दैन । ढाक छोप गर्छ । यो देख्दा जनता आक्रोशित भएका छन् । आश्चर्यचतिक भएका छन् ।”

सरकारले गर्न लागेको दोश्रो लगानी सम्मेलन प्रति पनि उनले व्यंग्य गरे । उनले भने “सबै उद्योग धन्दा कलकारखाना बन्द भएका छन् । चलाउने मान्छेहरु यस्तो निरास भईरहेका बेला प्रधानमन्त्री भन्दै हुनुहुन्छ संसार आउँदै छ । धोक्रोका धोक्रो पैसा बोकेर नेपाल आउँदै छ । यो भनेको र यो भित्र भएको फरक देखेर जनता आश्चर्य चकित छैनन् । जनता आक्रोशित छन् ।”

सरकारबाट नै गलत तथ्यांक दिने तथा तथ्यांक तोडमोड गरेर प्रस्तुत गर्ने र नेपाल सम्बन्धी विदेशीको रिपोर्ट परिवर्तत गर्न धम्कि दिने काम भईरहेको भन्दै उनले भने “राष्ट्रबैक देखि योजना आयोग र वित्तिय आयोग सम्म सबैलाई निकम्मा बनाएर सानो एउटा टोकरीबाट सिंगो सरकार चलाउने कोशिस भईरहेको छ ।”

उनले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीलाई आफ्नै वरपर भईरहेको भ्रष्टाचारलाई एकपल्ट नियाल्न आग्रह गरे । उनले भने “प्रधानमन्त्री भन्नुहुन्छ, म भष्टाचारीको अनुहार हेर्दिन । दायाँ भष्टाचारी, बायाँ भष्टाचारी, विमान किन्दा भष्टाचार, जलविद्युत्मा भ्रष्टाचार, बैदेशिक रोजगारीमा भष्टाचार, दुरसंचारमा भ्रष्टाचार ।

यत्र तत्र भष्टाचारी राखेर हेर्दै गर्दा, प्रधानमन्त्रीले म भष्टाचारीको अनुहार हेर्दिन भन्दै गर्दा मलाई डर लाग्न थालेको छ । प्रधानमन्त्रीले ऐना हेर्ने अवस्था बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।”

विवादास्पद सम्मेलनमा सरकार र सदनका नाम जोडेर मुलुकको प्रतिष्ठामा आँच पुर्याउने काम गरेको सरकारले पछिल्लो समय भेनेजुएलाका बारेमा टिप्पणी गरेर नयां संकट निम्त्याएको उनले बताए । उनले भने “आम नेपाली जनता चाहन्छन् । सम्माननिय प्रधानमन्त्रीले एकपटक ऐना अगाडि उभिएर एकपटक आफ्नो अनुहार राम्रोसंग हेर्नुहोस् । अनुहारमा दागै दाग लागेको छ । त्यो दाग मेटाउनुहोस् । हाम्रो प्रधानमन्त्री सफा देखिनोस् । हाम्रो प्रधानमन्त्री उज्यालो देखिनोस् । हाम्रो पनि चाहाना यही छ । जनताको चाहाना पनि यही छ । तर प्रधानमन्त्रीको आत्माश्लाघा हेर्नुहोस् त , ऐनाको अगाडि उभिएर दाग देख्दै गर्दा प्रधानमन्त्री भन्नुहुन्छ ऐनामा भएको फोहोरलाई मेटा ।”

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराले थापालाई बोल्नका लागि समय उपलब्ध गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);