सरकार संविधान विरोधी कार्य गर्न उद्धत : देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकार संविधान विरोधी कार्य गर्न उद्धत : देउवा

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाईको बलमा सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको आरोप लगाएको छ ।

संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको विहिबारको तेश्रो बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेर बहादुर देउवाले एक पछि अर्को गर्दै सरकार संविधान विरोध कार्य गर्न उद्धत रहेको आरोप लगाउनुभएको हो ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकिकरण तथा शक्ति सन्तुलनको संबैधानिक व्यवस्था विपरित सरकारले न्यायपालिका माथि हस्तक्षेप गर्ने र व्यवस्थापिका संसदलाई खेलौना बनाउने काम गरेको दाबी उहाँले गर्नुभयो ।

सबै संवैधानिक निकायहरु स्वतन्त्र हुनुपर्नेमा सरकारले मानवअधिकार आयोग माथि नियन्त्रण गर्ने काम गरेको तथा सरकारका कामकारवाहीलाई निगरानी गर्ने स्वतन्त्र आयोगहरु लाई पनि नियन्त्रणमा राख्ने काम भएको जिकिर उहाँले गर्नुभयो ।

उहाँले संघीय संरचना अनुसार तीनै निकायमा अधिकार बाँडफाँड गर्नुको सट्टा सरकार अधिकारको दुरुपयोग गर्दे संघीय सरकारको शक्तिलाई सर्वशक्तिमान बनाउने काममा लागेको आरोप लगाउनुभयो ।

उहाँले संविधानको भावना विपरित सरकारका सबै गलत क्रियाकलाप विरुद्धमा नेपाली कांग्रेसले संसदमा कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

उहाँले संविधान विपरित सरकारले संचार जगतलाई नियन्त्रण गर्ने, राजनीतिक आस्थाको आधारमा सरकारी संचारमाध्यममा कार्यरतलाई हटाउने लगाएत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने काम गरेको टिप्पणी गर्नुभयो ।

सरकार गठनको डेढ बर्ष पुग्दासम्म संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधानको मर्म र भावना अनुरुप संघीयता कार्यान्वयनको बाँकी कार्यभार पुरा गर्न असफल हुनु अन्त्यन्तै दुखद पक्ष भएको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले सुरक्षा जस्तो संवेदनशील विषयमा संविधान विपरित कानुन बनाउने, प्रतिपक्षी दलको विरोधका बाबजुत संसदबाट वलजफ्ती विधेयक पारित गर्ने, विवादास्पद विधेयक बनाउने काममा सरकार अग्रसर भएको बताउनुभयो ।

वाईडवडी, न्यारो वडी, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण लगाएतले सबै भन्दा ठूलो भ्रष्टाचारका घटना वर्तमान सरकारको समयमा भएको पुष्टीभएको भन्दै उहाँले सम्पुर्ण राज्य संरचना नै भ्रष्टिकरण उन्मुख भएको दाबी गर्नुभयो ।

उहाँले भ्रष्टाचारका कुनै पनि मुद्धामा कसैलाई पनि उन्मुक्ति नदिन आग्रह गर्दै त्यसमा प्रतिपक्षी दलका तर्फबाट सरकारलाई सहयोग रहने प्रतिवद्धता पनि जनाउनुभयो ।

सरकार महिला हिंसा नियन्त्रण र शान्ति सुरक्षाको प्रत्याभुतिमा पुर्णरुपमा असफल भएको टिप्पणी गर्नुभयो । बाँकेमा कांग्रेस जिल्ला सभापति माथिको आक्रमणको घटना स्मरण गर्दै उहाँले भन्नुभयो “प्रतिपक्षी दल जिल्ला सभापति सुरक्षित हुन सक्दैन भने यहाँ को सुरक्षित छ ? प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि राणा शासन, पञ्चायत र राजा हटाएको हो । शान्तिपुर्ण रुपमा हल भित्र सभा गर्दा हात भाँच्ने काम भएको छ । यसैका लागि लडेको हो हामीहरु ?”

प्रजातन्त्रको खिलापमा संलग्न माथि कारवाही नभएर सदन नै अवरुद्ध गर्नु पर्ने स्थिति श्रृजना भएको भन्दै उहाँले कानुनको पालनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सुरक्षा निकायले पनि निश्पक्ष ढंगले शान्ति सुरक्षा प्रत्याभुतिको जिम्मेवारी निर्वाह नगरेको भन्दै उहाँले जनताको करबाट तलब खाने प्रहरीहरु कुनै पनि पार्टीका कार्यकर्ता बन्ने र बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभयो।

वर्तमान सरकार बनेपछि अकाशिएको बजार मुल्य चाडपर्व नजिकिए संगै बढेको, कर वृद्धि गरेकाले व्यवसायीहरु मर्कामा परेको, सरकारको कार्यशैलीका कारण सर्वसाधरण्मा असन्तुष्ठी बढेको भन्दै उहाँले आफ्ना काम कारवाहीमा सुधार ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि राहत तथा पुनर्स्थापनाको काम प्रभावकारी हुन नसकेको तथा दिर्घकालिन समस्या समाधानका लागि कुटनीतिक पहल नभएकोमा पनि उहाँले असन्तुष्ठी जनाउनुभयो । सरकारको आर्थिक सम्मृद्धिको नारा कोरा मात्रै भएको टिप्पणी उहाँले गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);