गुटैगुटले जेलिँदै कांग्रेस, पदको बार्गेनिङ गर्न गुट बनाउने प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

काठमाडौं, १५ भदौ । जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने खबर पठाए। सभापतिले मनोमानी पारा देखाएको भन्दै उनले विरोध गरे।

 

मन्त्रिपरिषद्मा आफ्नोतर्फबाट ४० प्रतिशत सहभागिता हुनुपर्ने उनको माग थियो। देउवाले मन्त्री चयन पछि गर्ने जानकारी गराएपछि उनी शीतलनिवास गए। भदौ ७ मा देउवा भारत भ्रमणमा जान लाग्दा विमलेन्द्र निधिलाई कार्यवाहक सभापति दिए।

 

त्यसप्रति असन्तुष्टि जनाउँदै पौडेल पक्षले भदौ १० गते महामन्त्री शशांक कोइरालाको निवासमा छुट्टै भेलासमेत आयोजना गर्यो । भदौ ११ गते तनहुँको दमौली पुगेका पौडेलले पार्टीमा हचुवा प्रवृत्तिले काम हुन थालेको आरोप लगाए।

 

यी दुई घटनाले कांग्रेसभित्रको गुटगट राजनीतिलाई प्रस्ट्याउँछन्। देशकै सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसका शीर्ष नेतालाई आ-आफ्नै खेमा खडा गर्न भ्याइनभ्याइ छ। उनीहरूकै भनाइलाई आधार मान्ने हो भने यो पार्टीमा सातवटा गुट सक्रिय छन्।

 

यसको मुख्य काम पार्टीबाट छानिने मन्त्री, राज्यमन्त्रीदेखि विभिन्न पदाधिकारी भागबन्डामा बार्गेनिङ गर्ने हो। केन्द्रीय सदस्य शंकर भण्डारी भन्छन्, ‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी भएपछि यस्तै हुन्छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।