नागरिकता सम्बन्धि विधेयक खारेज गर्न माग गर्दै सभामुखलाई ज्ञापन पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नागरिकता सम्बन्धि विधेयक खारेज गर्न माग गर्दै सभामुखलाई ज्ञापन पत्र

sabhamukh mahara

काठमाडौं, १६ माघ । सरकारले ल्याएको नागरिकतासम्बन्धि विधेयक खारेज गर्न माग गर्दै नागरिक समाजका अगुवाहरुले सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएका छन् ।

नागरिक समाजका अगुवाहरुले बुधबार सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाउँदै सरकारले ल्याएको नागरिकता सम्बन्धि विधेयकमा विदेशी नागरिकले पनि नागरिकता लिन सक्ने प्रावधान राखिएकोमा आपत्ति जनाउँदै सो विधेयक तत्काल खारेज गर्न सरकारलाई सचेत गराउन माग गरेका हुन् ।

सरकारले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न विधेयक तयार पारी संघीय संसदमा पेश गरेको छ । सो विधेयकमा विदेशी नागरिकले पनि नागरिकता पाउने प्रावधान रहेकाले त्यसलाई खारेज गर्न सरकारलाई सचेत गराउन सभामुख महरालाई आग्रह गरिएको नागरिक समाजका अगुवा सूर्यनाथ उपाध्यायले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त समेत रहेका उनले राष्ट्रिय परिचय पत्र वितरणको कामलाई पनि तत्काल रोक्न सभामुख महरामार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

नागरिक समाजका अगुवाहरुले २०६३ सालको नेपाल नागरिकता ऐनबाट विदेशीले पनि नागरिकता लिएकाले त्यसको छानवीनका लागि सर्वशक्तिमान नागरिकता छानवीन आयोग गठन गर्न पनि सरकारलाई निर्देशन दिन सभामुख महरासँग आग्रह गरेका छन् ।

विदेशी नागरिकले नागरिकता लिएको सम्बन्धमा एकीन गर्न सरकारलाई सो सम्बन्धित छानवीन गर्न आयोग गठनका लागि सचेत गराउन सभामुख महरालाई आग्रह गरिएको नागरिक समाजका अर्का अगुवा लोककृष्ण भट्टराईले बताए ।

नागरिक समाजका अगुवाहरुले गत पुस २८ गते बसेको एक भेलाले २०६३ सालमा जारी गरेको नागरिकता ऐनबाट विदेशी नागरिकले पनि नागरिकता लिएको निष्कर्ष निकाल्दै त्यसलाई छानवीन गरेर मात्रै नागरिकता सम्बन्धि विधेयकलाई संशोधन गर्न सरकारलाई सचेत गराउन सभामुख महराको ध्यानाकर्षण गराएका हुन् ।

यता, सभामुख महराले पनि सो विधेयक विवादमा परेको उल्लेख गर्दै त्यसमा आवश्यक छलफल गर्ने बताए । उनले सो विधेयक यथास्थितिमा पारित नगराउन जनदवाव सृजना गर्न पनि नागरिक समाजका अगुवाहरुलाई सुझाव दिए । राष्ट्रिय हित विपरितका कुनै पनि गतिविधि हुन नदिन आफू लागिपर्ने सभामुख महराको भनाई छ ।

सभामुख महराले नागरिकता सम्बन्धि विषय संवेदनशील विषय भएकाले यसमा व्यापक छलफल गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);