खगेन्द्र घिमिरे
झापा, १३ माघ । झापाको भद्रपुर नगरपालिका–९, स्थित मनषा सिमेन्ट उद्योगमा कार्यरत भारतको पटना, विशाखाका कमलसिंह दुगडको मृत्यु थप रहस्यमय बनेको छ । उद्योगमा विगत दुई बर्षदेखि म्यानेजरको रुपमा कार्यरत ६२ बर्षीय दुगडको हात खुट्टा बाँधिएको अवस्थामा उनी सुत्ने खाटमै शव फेला परेपछि हत्या थप रहस्यमय बनेको हो ।
झापाको भद्रपुर नगरपालिका–९, स्थित मनषा सिमेन्ट उद्योगमा कार्यरत भारतको पटना, विशाखाका कमलसिंह दुगड शनिवार मृत्यु अवस्थामा फेला परेका छन् । समेन्ट उद्योगमा विगत दुई बर्षदेखि म्यानेजरको रुपमा कार्यरत ६२ बर्षीय दुगडको हात खुट्टा बाँधिएको अवस्थामा उनी सुत्ने खाटमै शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुगड उद्योग परिसर भित्र कार्यालयसंगै रहेको कोठामा एक्लै बस्दै आएका थिए । दुगडको हत्या कसले र किन गरेको हो भन्ने बिषयमा अहिले अनुसन्धानमा भईरहेको छ । झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उनको शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने बताए ।
घटनास्थलमा प्रहरीको टोलीले भारतीय एक लाख पाँच हजार रुपैयाँ समेत फेला पारेको छ । कोठामा अन्य कुनै सरसामान चोरी भएको देखिदैन । नगद पनि जस्ताको त्यस्तै भेट्नु, सरसामान पनि केही चोरी नहुनु र उनको हत्या मात्र हुनुले घटना प्रहरीलाई अनुसंन्धानमा थप चुनौती थपिदिएको छ ।




