काठमाडाैं, १२ माघ । संसदमा जब कुनै सांसदले गलत वोल्छन तब यसलाई सच्याउने र मिलाउने काम संसदको प्रमुख भएको नाताले सभामुखले गर्दछन् । तर यदि सभामुखले नै गलत गरे भने कसले सच्याउने ? कसले मिलाउने ? एउटा गम्भिर प्रश्न खडा भएको छ ।
नेपालीमा उखान नै छ : हतपतको काम लतपत । शुक्रवार यस्तै भयो । विपक्षी दल नेपाली कांग्रेसले विरोध गरिरहेको थियो चिकित्सा शिक्षा विध्येकको वारेमा । कांग्रेसले रोष्ट्रम घेराउ गर्यो र नारावाजी पनि गरिरहयो ।
यहि क्रम आधा घण्टा जति चल्यो । यसपछि, सभामुख कृष्णवहादुर महराले चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रक्रिया अघि बढाए । तर, यतिवेला पनि विरोध जारी थियो । उनले विपक्षी दलका सांसदलाई फेरि एक पटक सम्वोधन गर्दै विरोध रोक्न र प्रक्रिया अघि बढाउन मद्धत गर्न अपिल गरे । तर, विरोध रोकिएन ।
सभामुख कृष्णवहादुर महराले यसपछि संसदको गतिविधि अघि बढाए तनावपुर्ण अवस्थामा । विरोधकैबीच प्रक्रिया अघि बढाइएको हुनाले एक किसिमको हतपत र हडबडीमा सभामुख देखिन्थे ।
यहि हडवडी शिक्षा मन्त्री गिरिराजमणि पोखरेलमा पनि देखिन्थ्यो । उनी पनि हतार हतार बोलिरहेका थिए । यता सभामुख पनि सचिवालयले मस्यौदा गरेर ल्याएको हरेक पत्र र ब्यहोरा दायाँवायाँ नहेरी फटाफट पढिरहेका थिए ।
यसपछि सभामुखले चिकित्सा शिक्षा विधेयक अन्तिममा निर्णयार्थ प्रस्तुत गरे । उनले आह्वान गरे – विधेयकका पक्षमा हुने माननिय सदस्यहरुले हुन्छ भन्नुहोस र विपक्षमा हुने माननिय सदस्यहरुले हुन्न भन्नोहोस् । त्यसपछि सभामुखले सांसदतिर हेरेर भने हुन्न भन्ने पक्षका माननिय सदस्यको बहुमत भएकोले चिकित्सा शिक्षा विधेयक पास भएको घोषणा गर्दछु ।
यसपछि विधेयक पास भयो भनेर सभामुखले भने । तर, यतिवेला पनि संसदमा विपक्षी दलले विरोध गरिरहेको थियो । नारावाजी पनि जारी थियो ।
विरोधमा रहेकोले विपक्षी दलले सभामुखले के वोले र के भयो भन्ने कुरा हेक्का राखेन । सत्तापक्षका सांसदले पनि संसदबाट चिकित्सा शिक्षा विध्येक पास भयो भनेर मख्ख परे तर सभामुखले कसरी पास गरे र उनले के वोले भन्ने शब्दतिर कोही पनि गएन तर जब विधेयक पास गर्दा सभामुखले के वोले भनेर रेकर्ड हेरियो तब त्यहाँ अनर्थ देखियो र सुनियो ।
अर्थात, सभामुखले विधेयक पास गर्नको लागि पक्ष र विपक्षमा सांसदलाई विभक्त त गरे तर आफैले अन्तिममा वोल्दा चाँहि विधेयकको विपक्षमा हुने सांसदको बहुमत रहेकोले यो विधेयक पास भयो भनेर निर्णय सुनाए । यदि विधेयकको विपक्षमा बहुमत भए कसरी पास भयो ?
झट्ट सुन्दा यहाँनिर सभामुखले जिव्रो चिप्लिएको देखिन्छ तर उनको यो बोली संसदको रेकर्डमा सदाको लागि रेकर्ड रहन्छ । यदि कुनै सांसदले गलत वोले भने यसको रेकर्ड सभामुखको आदेशमा रेकर्डबाट मेटाइन्छ तर सभामुखले यति महत्वपुर्ण मुद्धामा गलत वोल्दाको रेकर्ड अब के हुने ? र, यसले के अर्थ दिने ?




