बलजफ्ती विधेयक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बलजफ्ती विधेयक

sikshya bidek bahumatle parit

काठमाडौं, १२ माघ । प्रमुख विपक्षी कांग्रेसको अवरोध र होहल्लाबीच प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ। रोस्ट्रम घेराउ, नाराबाजी र होहल्लाबीच शुक्रबार विधेयकलाई प्रक्रियामा लगिएको थियो। यसबाट संसदीय प्रणालीमा बलजफ्ती विधेयक पारित गर्ने अर्को नजिर स्थापित भएको छ।

आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताललाई संघीय सरकारअन्र्तगत मान्यता दिनुपर्ने भन्दै कांग्रेसले संसद् अवरोध गरेको थियो। सभामुख कृष्णबहादुर महराले बहुमत सदस्यको समर्थनमा विधेयक पारित भएको घोषणा गरे। कांग्रेसले भने संसदीय मर्यादा मिचेर विधेयकलाई निर्णयमा लगेको भन्दै सभामुख र सत्तापक्षसँग आक्रोश पोखेको छ।

उसले अनसनरत डा. गोविन्द केसीसँगका सम्झौताअनुसार मात्र चिकित्सा विधेयक पारित गर्नुपर्ने अडान राख्दै आएको थियो। उक्त पार्टीले यसअघिका दुई वटा बैठकमा पनि विधेयक पारित हुन सकेको थिएन।

संसद् सचिवालयले चिकित्सा विधेयक पारित गर्ने एक मात्र एजेन्डासहित कार्यसूची बनाएको थियो। कांग्रेसले बैठकको सुरु हुँदै विरोध थालेको थियो। सांसदहरू आ आफ्नो स्थानमा उभिएर अवरोध गरेपछि सभामुख महराले कांग्रेस सचेतक पुष्पा भुसाललाई बोल्न समय दिए। उनले पूर्वाग्रहका आधारमा कांग्रेसका नेताका नाम जोडिएका अस्पताललाई सरकारले मान्यता नदिएको आरोप लगाइन्। ‘सरकारले कांग्रेसको इतिहास मेट्न खोजेको छ,’ भुसालले भनिन, ‘माग सम्बोधन नभएसम्म संसद् अघि बढन सक्दैन।’ अवरोधका क्रममा पुरुष मर्यादापालकले महिला सांसदमाथि दुव्र्यवहार गरेको पनि उनले आरोप लगाइन्।

त्यसपछि कांग्रेसका सांसदले रोष्ट्रम घेरेर अवरोध गरे। सभामुखले कांग्रेसका मागप्रति सरकारलाई रुलिङ गरिसकेको भन्दै अवरोध नगर्न आग्रह गरे। सभामुखले ५ पटक आग्रह गर्दा पनि कांग्रेसले अवरोध नछोडेपछि प्रक्रियामा जाने निर्णय सुनाएका थिए। ‘मैले धेरैचोटी अनुरोध गरिसकँे,’ महराले निर्णय सुनाउँदै भने, ‘म अब कारबाही अघि बढाउँछु। सभामुखले विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने घोषणा गरेपछि कांग्रेसका सांसदले नाराबाजी र होहल्ला सुरु गरे भने सत्तासीन दलका सांसदले टेबल ठटाएर समर्थन जनाए। कांग्रेसले ‘संसदीय मर्यादा कायम गर, अधिनायकवादी शैली बन्द गर’ जस्ता नारा लगाएको थियो।

सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पारित गर्ने प्रस्ताव पेश गर्न समय दिए। पोखरेललाई रोक्ने प्रयास गरियो। रोस्ट्रम छिर्न गाह्रो भएपछि पोखरेल सांसदहरू बस्ने अघिल्लो लहरबाट रोस्ट्रम पुगे। उनलाई मर्यादापालकले हात समातेर सुरक्षा दिएका थिए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);