काठमाडौं, ५ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय एकता सहितको सामाजिक, सांस्कृतिक रुपान्तरणको बाटोमा सरकार अघि बढेको बताएका छन् ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित बोकाको मन निबन्ध संग्रह विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले राजनीतिक परिवर्तनले सोही अनुसार सांस्कृतिक रुपान्तरण पनि खोज्ने भएकाले सो क्रममा राष्ट्रिय एकतामा आउन सक्ने आँचतर्फ सरकार सचेत रहेको बताए ।
उनले सांस्कृतिक रुपान्तरणका लागि सतकौ समय लाग्ने भएकाले आदेश दिएर बदल्न नसकिने भन्दै राष्ट्रिय एकता सहितको परिवर्तनको पथमा अघि बढ्न सुझाव दिए । पहिचानको आन्दोलन गरिरहेकाहरुले गौरवपुर्ण इतिहासलाई पनि आत्मसाथ गर्नु पर्ने तर्क मन्त्री ज्ञवालीको थियो ।
मन्त्री ज्ञवालीले बजारमा विकाउ हुने विषयमा मात्रै पुस्तक प्रकाशकहरु हिड्ने गरेको भन्दै राजनीति परिर्वतनपछिको सांस्कृतिक रुपान्तरण र जनजीविकाका विषयलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए ।