मदन भण्डारीलाई मुख्य पात्र बनाई लेखिएको उपन्यास बर्बरिक नाटकको प्रदर्शन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

मदन भण्डारीलाई मुख्य पात्र बनाई लेखिएको उपन्यास बर्बरिक नाटकको प्रदर्शन सुरु

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मुख्य पात्र बनाई लेखिएको उपन्यास बर्बरिक माथि बनाईएको नाटकको प्रदर्शन सुरु भएको छ ।

झोराहाट नाटक घर बिराटनगरका कलाकारहरुद्धारा राजधानीको बिजुलीबजारस्थित कुञ्ज थियटरमा बर्बरिक नाटक देखाईएको हो । यो नेकपाका नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’को नाट्य रुपान्तरण हो ।

नाटकमा उपन्यासमा जस्तै महाभारतका एक पात्र बर्बरिकसँग स्वर्गीय भण्डारीलाई तुलना गरिएको छ । वि.सं. २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुङ्गा दुर्घटनाका बिषयहरु समेटिएको छ ।

नेकपाको चौथो महाधिवेशन पछिको राजनीतिक घटनाक्रम देखि दासढुंगा दुर्घटना सम्मका विषयलाई नाटकमा देखाईएको छ । तात्कालिन राजा वीरेन्द्रविरविक्रम शाहसंग जनताको सार्वभौमसत्ताको बारेमा नेता भण्डारीले गरेको वार्तालाप हेर्दै गर्दा भण्डारीको बारेमा सुन्दै र बुझ्दै आएका नयाँ पुस्ताहरुले त्यही समयमा पुगेको अनुभव गर्ने गरि नाटकमा जीवन्तता दिईएको छ ।

त्यसैगरी लौह पुरुष गणेशमानसिंह र नेता भण्डारीको मित्रतालाई पनि नाटकमा देखाईएको छ । सुरक्षा खतराकाबीच अस्पतालको शय्यामा जारी आन्दोलन र राजाकोे गिर्दो आत्मविश्वासका बारेमा दुई नेताबीचको वार्तालापलाई कलाकारहरुले सचित्र उतार्न सकेको देखिन्छ ।

दासढुङ्गा दुर्घटनापछि उपन्यासमा जस्तै नाटकमा पनि लेखकले बर्बरिकको बारेमा आफुले लिएको चिन्ता कलाकारले भन्दै गर्दा जतिनै कठोर मनहरुलाई पनि पगाल्न सफल देखिन्छ ।

नाटक हेरेपछि लेखक एवं वामपन्थी नेता प्रदीप नेपालले कलाकारहरुले आफ्ना पात्रहरुप्रति ९९ प्रतिशत न्याय गरेको प्रतिक्रिया दिए ।

बर्बरिक नाटक आगामी १२ गतेसम्म कुञ्ज थियटरमा प्रदर्शन हुनेछ । बर्बरिकको मुख्य भूमिकामा कलाकार भरत गुरागाईं छन् भने निर्देशन जीवन बरालले गरेका छन् । बर्बरिक महाभारतको एक शसक्त पात्र हो ।

यस नाटकमा पनि उपन्यास बर्बरिकमा जस्तै भीमको नाति बर्बरिकले आफ्नो क्षमता नदेखिइँदै मर्नु परेको कथालाई मदन भण्डारीको जीवनसँग जोडिएको छ । नाटक हेर्नका लागि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डित पनि कुञ्ज थियटर पुगेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);