दर्जनभन्दा बढी व्यावसायिक समूहमा कर छल्ने देशबाट लगानी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

दर्जनभन्दा बढी व्यावसायिक समूहमा कर छल्ने देशबाट लगानी

tax haven

काठमाडौं, ३ माघ । ‘टयाक्स हेवन’ मानिने १७ वटा मुलुकबाट ६६ अर्ब ९० करोड १८ लाख ४३ हजार २८४ रूपैयाँ बराबर लगानी गर्ने अनुमति नेपाल सरकारले दिएको छ । यी मुलुकबाट भित्रिएको वास्तविक लगानी रकम ८२ अर्ब ६५ करोड ७० लाख रूपैयाँ पुग्छ, जुन अनुमति दिएभन्दा १५ अर्ब ७५ करोड ५१ लाख ५६ हजार ७१६ रूपैयाँले बढी हो । अनुमति दिएभन्दा बढी रकम कसले भित्र्यायो ? यो सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको विषय हो ।

सम्पत्तिको स्रोत नखोजिने र कर छल्नका लागि सुरक्षित मानिने ‘टयाक्स हेवन’ मुलुकबाट नेपालका दर्जनभन्दा बढी व्यावसायिक ग्रुपमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको खुलासा भएको छ ।

खोज पत्रकारिता केन्द्र (खोपके) र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’ (आईसीआईजे) ले गरेको खुलासाअनुसार यस्तो रकम सबैभन्दा बढी ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्रिएको छ । ‘गैरकानुनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पुर्‍याएर त्यसलाई वैदेशिक लगानीका रूपमा नेपाल भित्र्याउने खेलको खुलासा हो,’ खोपकेले भनेको छ ।

सौरभ ग्रुप
विष्णुप्रसाद न्यौपाने अध्यक्ष रहेको सौरभ ग्रुपको लगानी रहेका १२ कम्पनीमध्ये दुुईवटामा ‘टयाक्स हेवन’ मुलुक ब्रिटिस भर्जिन आइल्यान्ड्स, यूएई र हङकङबाट विदेशी लगानी भित्रिएको छ । न्यौपानेले ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट नेपालमा विदेशी लगानी ल्याएको एउटा होटलसम्बन्धी परियोजना अलपत्र अवस्थामा छ ।

युनाइटेड स्पिरिट्स
चर्चित नेपाली मदिरा कम्पनी युनाइटेड स्पिरिट्सले समेत टयाक्स हेवन मुलुकबाट लगानी ल्याएको देखिन्छ । भारतको युनाइटेड स्पिरिट्स कम्पनीले ब्रिटिस भर्जिन आइल्यान्ड्समा सन् २००७ मा यूएसएल होल्डिङ्स कम्पनी खोल्यो । कम्पनीको सन् २०१३/०१४ को प्रतिवेदनले नेपालको युनाइटेड स्पिरिट्स कम्पनी आफ्नो सहायक कम्पनी भएको खुलासा गरेको थियो ।

टयाक्स हेवन लगानी २०३६ सालबाटै
नेपालमा २०३० सालबाटै व्यावसायिक रूपमा विदेशी लगानी आए पनि ‘टयाक्स हेवन’ मुलुकका लगानी भने २०३६ सालबाट आउन थालेको हो । युरोपियन युनियनले टयाक्स हेवनको सूचीमा राखेको नेदरल्यान्ड्सबाट सबैभन्दा पहिले नेपालमा विदेशी लगानी भित्रिएको हो ।

दुई तिहाइ लगानी टयाक्स हेवनको
भारत र चीन पछि सबैभन्दा बढी विदेशी लगानी नेपाल ल्याउने देश ब्रिटिस भर्जिन आइल्यान्ड्स हो । पछिल्लो दुई दशकमा नेपाल भित्रिएको १ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँ कुल वैदेशिक लगानी (एफडीआई) मध्ये ४५ प्रतिशत रकम यही मुलुकबाट आएको हो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);