स्विस बैंकमा ५५ नेपालीको ५२ अर्ब | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्विस बैंकमा ५५ नेपालीको ५२ अर्ब

swiss bank

काठमाडौं, ३ माघ । स्विस बैंकमा ५५ नेपालीका नाममा ४६ करोड आठ लाख २१ हजार स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रूपैयाँ) बचत गरेको तथ्य खोजपत्रकारिता केन्द्र नेपालले बुधबार सार्वजनिक गरेको छ। यसबापत उनीहरूले ६९ लाख ७४ हजार स्विस फ्र्यांक (७७ करोड ४१ लाख १४ हजार रूपैयाँ) ब्याजसमेत पाइसकेका छन्।

खोज पत्रकारिता केन्द्र (खोपके) को टिमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस’ (आइसिआइजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजको खुलासा हो– नेपाललिक्स २०१९। नेपाललिक्समा नेपालीले विदेशी बैंकमा राखेको धन र नेपालमा वैदेशिक लगानीमार्फत आएको ‘ट्याक्स हेवन’ को रकमबारे विस्तृतमा उल्लेख छ। अन्य देशसँग सूचना लिन नेपाल सरकारले पारस्परिक सूचना आदानप्रदानसम्बन्धी सम्झौता नगरेका कारण त्यो रकम फिर्ता गर्न त के रकम राखिएको विषयमा अध्ययनमै कठिन छ।

नेपाललिक्सका अनुसार नेपालमा सशस्त्र द्वन्द्व सुरु भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्विस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ। स्विस नेसनल बैंकले २०१७ मा सार्वजनिक गरेको विवरणअनुसार पहिलो वर्ष नेपालीले एक करोड १० लाख ४२ हजार स्विस फ्र्यांक अर्थात् एक अर्ब २४ करोड ७७ लाख ४६ हजार रूपैयाँ बचत भएको देखिन्छ। द्वन्द्वकालको १० वर्षे अवधिमा २४ करोड दुई लाख ७२ हजार स्विस फ्र्यांक (२७ अर्ब १५ करोड सात लाख ३६ हजार रूपैयाँ) नेपालीले स्विस बैंकमा रकम जम्मा गरेका छन्।

द्वन्द्व सकिएपछिका दुुई वर्षमा सबैभन्दा बढी रकम बचत भएको छ। सन् २००६ अर्थात् २०६३ सालमा मात्रै तीन करोड ६७ लाख २७ हजार स्विस फ्र्यांक (चार अर्ब १५ करोड एक लाख ५१ हजार रूपैयाँ) बचत गरिएको छ। सन् २००७ मा नेपालीले उक्त बैंकमा तीन करोड ४५ लाख १० स्विस फ्र्यांक (तीन अर्ब ८९ करोड ९६ लाख ३० हजार रूपैयाँ) बचत गरेका छन्।

कुल बचतबाट अहिलेसम्म १३ करोड ८९ लाख ३७ हजार स्विस फ्र्यांक अर्थात् करिब १५ अर्ब ५८ करोड ६८ लाख ८१ हजार रूपैयाँ खाताबाट निकालेको देखिन्छ। अहिले पनि नेपालीको ३५ अर्ब ८४ करोड रूपैयाँ स्विस बैंकमा छ। कानुन छलेर देशभित्र र बाहिर राखेको सम्पत्तिको अध्ययन गर्न नेपाल सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरेको १२ वर्ष भइसकेको छ। तर स्विस बैंकमा पैसा पु-याउने क्रम रोकिएको छैन।

विभाग गठन भएको २०६४ देखि २०७४ सालको अवधिमा मात्रै २२ करोड पाँच लाख ४९ हजार स्विस फ्र्यांक (२४ अर्ब ९२ करोड दुई लाख ३७ हजार रूपैयाँ) नेपाली बचतकर्ताले स्विस बैंकमा पु¥याएका छन्। अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेर राखिएको छ। यति गम्भीर मामिलामा यो निकायले कुनै सक्रियता देखाएको सार्वजनिक जानकारीमा छैन।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);