माग पुरा नभए स्वास्थ्य क्षेत्र ठप्प पार्ने सरकारी चिकित्सकको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माग पुरा नभए स्वास्थ्य क्षेत्र ठप्प पार्ने सरकारी चिकित्सकको चेतावनी

फूलमाया आले
काठमाडाैं, २७ पुस । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश लगायतका विषयमा असन्तुष्टि जनाउँदै यतिखेर स्वास्थ्य क्षेत्रमा कार्यरत आधा दर्जन भन्दा बढी संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलनरत छन् । सरकारले आफ्नो माग सम्बोधन नगरे आकस्मिक बाहेकका सम्र्पूण स्वास्थ्य सेवा बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यायदेशप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी चिकित्सक संघ नेपाल (गेदान), आवसीय चिकित्सक संघ, हेल्थ असिस्टेन्ट संघ लगायत आधा दर्जन भन्दा बढी संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलनरत छन् ।

उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्नुका साथै धर्ना र आन्दोलन गरिरहेका छन् । कर्मचारी समायोजन अध्यादेश तत्काल सच्याइनुपर्ने सरकारी चिकित्सक संघ नेपाल (गोदान) को मुख्य माग छ ।

सरकारी चिकित्सकहरुले आफनो अस्तित्व नै नास हुन लागेका कारण निर्णायक आन्दोलन गर्न बाध्य भएको बताएका छन् । सरकारले आफ्नो माग सम्बोधन नगरे देशभरको स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रने सरकारी चिकित्सकहरुको चेतावनी छ ।

त्यस्तै कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले तयार गरेको नयाँ संगठन संरचनाको विरोधमा हेल्थ असिस्टेन्ट संघ नेपाल पनि आन्दोलनमा छ । संघले आफूभन्दा कम योग्यता भएकालाई स्वास्थ्य चौकी प्रमुख बनाउन लागेको भन्दै विरोध गरेको छ ।

संघले सरकारले माग सम्बोधन नगरे नेपालभर कार्यरत हेल्थ असिस्टेन्टले सामुहिक राजिनामा सरकारलाई बुझाउने चेतावनी दिएको छ ।

यता चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत रहने गरि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्बाट गठन भएको केन्द्रीय जनस्वास्थ्य बिभाग गठनको प्रक्रियाको पूर्णतामा ढिलाई भएको भन्दै नेपाल जनस्वास्थ्य संघले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई ध्यानाकर्षण गराएको छ ।

उता शिक्षण अस्पतालमा कार्यरत आवसीय चिकित्सकहरू पनि सरकारले ८ महिनादेखि छात्रवृत्ति तथा तलव र भत्ता उपलब्ध नगराएको भन्दै आन्दोलनरत छन् । सरकारले छात्रवृत्ति तथा भत्ता उपलब्ध नगराएसम्म काम ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् ।

सरकारले स्वास्थ्यकर्मीका माग सम्बोधन नगर्दा स्वास्थ्यका तल्लो तहका कर्मचारीदेखि माथिल्लो तहका चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरुसम्म सबै कर्मचारी आन्दोलनमा जाँदा अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको छ । जसका कारण बिरामीले सास्ती पाउन थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);