काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ ।
काँग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यप्रति सांसदहरुले प्रश्न गर्न पाउने अधिकारबाट सभामुख महराले बञ्चित गराएको निष्कर्ष निकाल्दै बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरेको हो ।
संसद नियमावली र संसदीय विधि अनुरुप पनि संसद सदस्यहरुलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरिएको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
संसद सदस्यहरुको अधिकारलाई सुनिश्चित गर्न पनि सभामुख महराले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गर्नुपर्ने काँग्रेसको भनाई छ । काँग्रेस संसदीय दलले सभामुख महरालाई सदनको गरिमा बचाउन र साझा व्यक्तिको रुपमा भूमिका निर्वाह गर्न पनि ध्यानाकर्षण गराएको छ ।
बैठकले सरकारले ल्याउने विधेयकमा कडा निगरानी राख्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । सम्बन्धित पक्षसँग छलफल समेत नगरी सरकारले विधेयक ल्याउने गरेको निष्कर्ष निकाल्दै सो सम्बन्धमा गहन अध्ययन गरेर प्रस्तुत हुन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिइएको प्रमुख सचेतक खाँडले बताए ।
सरकारले संविधानसँग बाँझिएका कानुन निर्माणको कामलाई अघि बढाईरहेका बेला प्रमुख प्रतिपक्ष दल काँग्रेसले सो सम्बन्धमा गहन अध्ययन गरी अघि बढ्न पार्टीका सांसदहरुलाई सचेत गराएको हो । कांग्रेस संसदीय दलको बैठकमा पार्टीको तर्फबाट सरकारको काम कार्वाहीलाई निगरानी राख्न विज्ञहरुसहितको विभिन्न समिति बनाउने निर्णय पनि गरेको छ ।




