इस्तानबुल नजिकै दुई जहाज ठोक्किँदा १० जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

इस्तानबुल नजिकै दुई जहाज ठोक्किँदा १० जना बेपत्ता

टर्कीको इस्तानबुल नजिकै मर्मारा सागरमा बुधवार बिहान दुईवटा व्यावसायिक जहाज आपसमा ठोक्किँदा चालक दलका १० सदस्य बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार टर्कीको झण्डावाहक एक मालवाहक जहाज र एक ट्याङ्कर आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो । इस्तानबुल गभर्नरको कार्यालयले दिएको जानकारी अनुसार, स्थानीय समयअनुसार बुधवार बिहान करिव ३ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटनामा संलग्न तुग्बर्क इमामोग्लु नामक मालवाहक जहाज ८०० देखि ९०० मिटर गहिरो पानीमा डुबेको अनुमान गरिएको छ । ४,१९९ टन क्वाइल्ड स्टिल बोकेको उक्त जहाज दक्षिण बन्दरगाह इस्कान्देरुनबाट टर्कीको ब्ल्याक सी तर्फ जाँदै थियो । दुर्घटनापछि उक्त जहाजसँग कुनैपनि सम्पर्क स्थापित हुन नसकेको र चालक दलका सदस्यहरू पनि सम्पर्कविहीन रहेको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनामा संलग्न अर्को जहाज अल्सु नामक ट्याङ्कर हो, जुन कोकाएलीबाट इजमिर प्रान्तको अलियागा जिल्लातर्फ जाँदै थियो । ठक्कर खाएको समयमा उक्त ट्याङ्कर खाली रहेको र यसमा कुनै देखिने गरी क्षति नपुगेको पाइएको छ ।
बेपत्ताहरूको खोजी तथा उद्धार कार्यका लागि १४ वटा समुन्द्री खोज तथा उद्धार इकाइ र दुईवटा हेलिकप्टर परिचालन गरिएको छ । हाल उक्त क्षेत्रमा तीव्र रूपमा खोजी कार्य जारी रहेको गभर्नरको कार्यालयले जनाएको छ ।

Leave a Reply