वेस्ट बैंकको रामल्लाह सहर नजिकै अवस्थित एक गाउँमा इजरायली सुरक्षा बलको गोलीबारीबाट दुई प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधवार साँझ यस घटनाको पुष्टि गरेको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मृत्यु हुनेमा १९ वर्षीय ओमार मोहम्मद नाजी अल–नासान र १६ वर्षीय खलिल रासिम खलिल शेहादेह रहेका छन् ।
अल–मुघयिर गाउँमा इजरायली बसोबासकर्ता र सैनिकहरूले गरेको संयुक्त आक्रमणका क्रममा उनीहरूमाथि गोली प्रहार भएको थियो । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीकाअनुसार घाइतेहरूको घाँटी र ढाडमा गोली लागेको थियो । गम्भीर अवस्थामा अस्पताल लैजाँदै गर्दा दुवैको मृत्यु भएको जनाइएको छ ।
गाउँ परिषद्का अध्यक्ष अमिन अबु आलियाले दिएको जानकारीअनुसार इजरायली बसोबासकर्ता र सैनिकहरू गाउँको मध्यभागमा प्रवेश गरी दुईवटा घरमा आक्रमण गर्नुका साथै स्थानीयका भेडाहरू लुटेका थिए । त्यस क्रममा इजरायली सेनाका स्नाइपरहरूले वरपरका भवनहरूमा मोर्चा सम्हालेका थिए । आलियाकाअनुसार स्थानीय बासिन्दाले लुटपाटको प्रतिरोध गर्न खोज्दा स्नाइपरहरूले प्रत्यक्ष गोली प्रहार गरेका थिए । जसमा अल–नासान र शेहादेह घातक रूपमा घाइते भएका थिए । यस घटनाका सम्बन्धमा इजरायली सेनाले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी वा प्रतिक्रिया दिएको छैन ।




