सभामुखले सरकारलाई संसदप्रति जवाफदेही बनाउन नचाहेको कांग्रेस सांसदको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सभामुख कृष्णबहादुर महराले सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन नचाहेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसदद्वय दिलेन्द्रप्रसाद बडु र डा. डिला संग्रौलाले आईतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रश्न गर्न नदिएबाट सभामुख महरा सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन गम्भिर नरहेको पुष्टि भएको दाबी गरे ।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा कुरा गर्दै काँग्रेस सांसद बडुले सरकारलाई संसदप्रति जवाफदेही बनाउन प्रधानमन्त्रीको वक्तव्यमाथि सांसदहरुले निर्बाध प्रश्न गर्न पाउने अधिकारलाई सभामुखले हनन् गरेको आरोप लगाए ।

उनले संसदमा सरकारलाई जवाफदेही बनाउन र संसदीय मूल्य मान्यता अनुसार पनि सभामुखले प्रधानमन्त्री र मन्त्रीहरुसँग निर्वाध प्रश्न गर्न दिनुपर्ने पार्टीको अडान रहेको बताए । आईतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यमाथि सभामुखले तत्काल प्रश्न गर्न दिएका थिएनन् । त्यसप्रति काँग्रेस सांसदहरुको आपत्ति छ ।

काँग्रेसकी अर्का सांसद डिला संग्रौलाले प्रधानमन्त्रीसँग प्रश्न गर्ने अधिकार लत्याएको भन्दै सभामुख महराप्रति असन्तुष्टि व्यक्त गरे । उनले संसद विपक्षको भएको उल्लेख गर्दै आफूहरु प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने व्यवस्था स्थापित गराउन लागिपर्ने बताए ।

आईतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको वक्तव्यपछि प्रश्न गर्न नदिएपछि प्रतिनिधिसभा बैठक बुधबार (भोली) सम्मका लागि स्थगित गरिएको छ । काँग्रेसले भने प्रधानमन्त्रीसँग प्रश्न गर्न नदिएर सभामुख महराले संसदीय मूल्य, मान्यताको समेत अपहेलना गरेको आरोप लगाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);