एजेन्सी, १४ पुस । युद्धग्रस्त क्षेत्रमा तैनाथ सैनिकसँग भेट नगरेको भनी देशभित्र आलोचना भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकस्मिक इराक भ्रमणले त्यसलाई मत्थर पारेको छ । भने उनले त्यहाँ दिएको अभिव्यक्तिले सवैलाई चकित पारेको छ ।
राष्ट्रपति ट्रम्पले त्यहाँ अमेरिकी सेनावाट सुरक्षा खोज्ने राष्ट्रले अब त्यसको शुल्क तिर्नुपर्ने आशय व्यक्त गरेका छन् । विभिन्न समयमा विवादास्पद भनाईहरुले चर्चामा आइरहने राष्ट्रपति ट्रम्पको यो भनाई फेरी एकपटक चर्चाको विषय बनेको छ ।
उनको यस्तो भनाईलाई कतिपय विश्लेषकहरुले व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुनाले ट्रम्पको नीतिमा आर्थिक आयाम हुनु अस्वाभाविक नभएको बताएका छन् । तर उनी अमेरिकाका राष्ट्रपति भएकाले उनको टिप्पणीलाई व्यक्तिगत मात्रै मान्न सकिने स्थिति भने रहँदैन ।
इराक, अफगानिस्तान र सिरिया आदि देशमा सैन्य हस्तक्षेप गरेकाले भनेर अमेरिकाको आलोचना हुनेगरेको समयमा आएको उनको अभिव्यक्तिले अमेरिकी नीतिमा केही परिवर्तन हुन थालेको विश्लेषण गरिएको छ ।
इराकमा शैनिकहरुलाई सम्वोधन गर्दै अमेरिकाको असाधारण सेनालाई प्रयोग गरेर आफ्नो रक्षा गराउने राष्ट्रहरूले अबदेखि हाम्रो फाइदा नलिऊन् भन्ने चाहेको उनले बताएका छन् । उनले त्यस्ता देशहरुले अमेरिकालाई केहि नतिरेको भन्दै अवदेखि त्यसो नगरिने आशयको अभिव्यक्ति दिएका छन् ।
इस्लामिक स्टेट लडाकु समूह पराजित भइसकेको भन्दै गतहप्ता ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने विवादास्पद घोषणा गरेका थिए ।




