६ विद्यार्थीका लागि ७ प्राध्यापक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

६ विद्यार्थीका लागि ७ प्राध्यापक

ramsagar

जनकपुरधाम, १४ पुस । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा मैथिली विभागअन्तर्गत ६ विद्यार्थीका लागि सात जना प्राध्यापक कार्यरत छन्। विद्यार्थीभन्दा प्राध्यापकको संख्या बढी भए पनि मैथिली विभागमा विद्यार्थी पढ्नै नआएपछि कक्षा सञ्चालन गर्न नसकिएको प्राध्यापक रूपेश सिंह बताउँछन्। विभागका कर्मचारी तथा प्राध्यापकका लागि प्रतिमहिना २० लाख रुपैयाँ खर्च हुँदै आएको छ।

त्यसैगरी, मानविकी संकायतर्फ विभिन्न विषयका लागि ३५ प्राध्यापक कार्यरत छन्। तर, अधिकांश विषयमा विद्यार्थीको नामांकन नै छैन। जनकपुरमा सञ्चालित अधिकांश निजी क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरूकै नाम, लगानी वा सहयोगले सञ्चालित छन्। क्याम्पसमा कार्यरत १ सय २ जना स्थायी प्राध्यापक र ५० पार्टटाइमरमध्ये अधिकांश हाजिरी गरी तलब बुझ्ने गर्छन्।

मैथिली विभागकी प्राध्यापक विनिता ठाकुर भन्छिन्, ‘स्वार्थ र अर्थमा डुबेको म्यानेजमेन्टका कारण क्याम्पस धराशयी भएको छ।’ उनका अनुसार त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये ०१६ सालमा स्थापित शैक्षिक दृष्टिले प्रथम स्थान ओगट्न सफल उक्त क्याम्पस ०६० सालसम्म ‘क’ वर्गमा सूचीकृत थियो। महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप, ओखलढुंगालगायत स्थानबाट विद्यार्थी आउने गर्थे।

बीएससी वा एमएससीका अधिकांश टपर यही क्याम्पसका विद्यार्थी हुने गरे पनि अहिले उक्त संस्था ‘डिग्री’ बाँड्ने थलोमा सीमित भएको उनले बताइन्। राजनीतिक दबाबमा क्याम्पस प्रमुख छनोट र प्राध्यापकको निजी क्याम्पसप्रतिको मोहले संस्थालाई धराशयी बनाएको उनको आरोप छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);