मनाङमा तापक्रम माइनस २१ डिग्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मनाङमा तापक्रम माइनस २१ डिग्री

himpat

पोखरा,  १४ पुस ।  हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ। मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि हिमाली जिल्लामा चहलपहल हराएको छ। बजार र गाउँ सबैतरि सुनसान भएको प्रशासनले जनाएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुुसार शुक्रबार बिहानको तापक्रम माइनस २१ डिग्री थियो। दिउँसो साढे ११ बजेपछि घाम लागेर तापक्रम केही घटे पनि बेलुकीपख उस्तै चिसो बढेको उनले बताए। ‘माइनस २१ डिग्रीको चिसोमा बसेका छौं। बाहिर चहलपहल पनि खासै छैन। मान्छेको आउजाउ नै छैन,’ उनले भने, ‘चिसो बढेकोले बाहिर हिँडडुल गर्न सकस छ।’

उनका अनुुसार सदरमुकाम चामे, माथिल्लो क्षेत्र खाङसार, हुम्दे, टंकी मनाङलगायतका क्षेत्रमा बिहीबार झन्डै ७ घण्टासम्म हिमपात भएको थियो। बाक्लो हिमपातका कारण चिसो ह्वात्तै बढेको उनले बताए। सदरमुकाम चामेमा एक इन्च बाक्लो हिउँ जमेको जानकारी उनले दिए। माथिल्लो क्षेत्रमा भने चार इन्चजति हिउँ जमेको उनले बताए। ‘बिहीबारको हिमपातले गर्दा चिसो ह्वात्तै बढेको छ। शुक्रबार दिउँसो घामले तापक्रम केही बढे पनि बेलुकी निकै चिसो भयो,’ प्रजिअ देवकोटाले भने।

उनका अनुसार सबैभन्दा टाढा नार र फू का बासिन्दा घर छाडेर तातो क्षेत्रतिर झरेका छन्। नार र फू मा १० जनाजति मान्छे मात्र घर कुरेर बसेको उनले बताए। ‘सदरमुकाम क्षेत्रका पनि आधाजति घरमा ताला लागेको छ,’ उनले भने, ‘अधिक चिसो भएपछि सुनसान छ।’ चिसो नघटेसम्म घरमा ताला लगाएका बासिन्दा गाउँ नफर्किने उनले बताए। घर छाडेका बासिन्दा बेसीसहर, पोखरा, काठमाडौंलगायत क्षेत्रसम्म पुग्छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);