रोनाल्डोको पेनाल्टी गोल | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

रोनाल्डोको पेनाल्टी गोल

Ronaldo

काठमाडौं, २ पुस । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि इटालियन च्याम्पियन युभेन्ट्सले सहरी प्रतिद्वन्द्वी टोरिनोलाई १–० ले हराएर अपराजित रहँदै शनिबार सिरी ‘ए’ मा आफ्नो वर्चस्वलाई कायमै राखेको छ ।

च्याम्पियन्स लिगमा योङ ब्वाइजसँग बर्नमा २–१ ले स्तब्ध भएसँगै घरबाहिर एक वर्ष लामो अपराजित यात्रामा पूर्णविराम लागेपछि युभेन्ट्स स्टाडियो ओलम्पिको पुगेको थियो ।

रोनाल्डोले यो सिजनको लिगमा ११ औं गोल गरे । र, युभेन्ट्सका लागि सिरी ‘ए’ मा ५ हजारौं गोल । टोरिनोका गोलकिपर साल्भाडोर इचाजोले मारियो मान्जुकिचलाई फल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले ७० औं मिनेटमा उपयोग गरे ।

युभेन्ट्स दोस्रो स्थानमा रहेको नेपोलीभन्दा ११ अंक अगाडि छ । कप्तान मार्को इकार्डीले पेनाल्टीमा गोल गरेपछि उडिनेजीमाथि १–० को जित हात पारेको इन्टर मिलान शीर्षस्थानमा रहेको युभेन्ट्सभन्दा १४ अंक पछाडि रहेको छ ।

‘यो गाह्रो खेल भयो । कठिन मैदानमा खेल्यौं,’ रोनाल्डोले भने, ‘हामीले राम्रो प्रदर्शन गर्‍यौं । टोरिनोभन्दा राम्रो खेल्यौं । धेरै गोलका अवसर पाएका थियौं र हामी जितका लागि योग्य थियौं ।’ ‘डर्बी डेला मोल’ मा दुर्लभ जित हात पार्ने टोरिनोको आशा गोलकिपर साल्भाटोर सिरिगुले चोट बोक्दै २० औं मिनेटमा मैदान छाडेपछि कमजोर बनेको थियो ।

त्यसपछि इचाजोले गोलपोस्ट सम्हालेका थिए । र, खेलमा कमजोर ‘ब्याकपास’ निर्णायक बन्यो । सिमोन जाजाले दिएको पासमा इचाजोले मान्जुकिचलाई फल गर्न पुगेका थिए । त्यसमा पाएको पेनाल्टीमा पाँचपल्टका बालोन डि’अर विजेता रोनाल्डोले कुनै गल्ती गरेनन् । इचाजोले बलमा हात भने पुर्‍याएका थिए । ‘उनले बलमा हात पुर्‍याएका थिए तर मैले कडा प्रहार गरेका कारण सफल भयो । त्यो नै सबैभन्दा महत्त्वपूर्ण हो,’ रोनाल्डोले भने । यसले उनी ११ गोलसहित सिरी ‘ए’ का सर्वाधिक गोलकर्ता किर्जिस्तोफ पियातेकसमान पुगेका छन् ।

म्याड्रिड– करिम बेन्जेमाको गोलसँगै रियल म्याड्रिड रायो भ्यालेकानोलाई १–० ले पन्छाउँदै शनिबार ला लिगामा शीर्षस्थानमा रहेको बार्सिलोनाको दुई अंकनजिक पुगेको छ । बेन्जेमाकै देशका एन्टोइन ग्रिजमनले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिडले रियल भालाडोलिडलाई ३–२ ले हराएर बार्सिलोनासमान अंक बनायो ।

बेन्जेमाले १३ औं मिनेटमा गरेको गोल रियलको जितका लागि पर्याप्त रह्यो । रियल २९ अंक बनाएर तेस्रो स्थानमा उक्लियो । एट्लेटिको र एक खेल कम खेलेको बार्सिलोनाको समान ३१ अंक छ । पुछारबाट दोस्रोमा रहेको रायोविरुद्ध जित हासिल गर्न रियलले निकै मिहिनेत गर्नुपर्‍यो ।

गोलकिपर टिबाउट कोर्टियसले दुईपल्ट रोकेको बललाई सर्जियो रामोसले अन्तिम समयमा क्लियर गर्न नसक्दा रायो अंक जोड्न सक्ने अवस्थामा पुगेको थियो । तर, एलेक्स एलेग्रिया र एमिलानो भोलाक्वेज सतर्क थिएनन् ।

यो खबर आजको कन्तिपुर दैनिकमा छापिएको छ ।

ताजा समाचार