काठमाडौं, २७ मंसिर । मेघौली सेराई होटलका कर्मचारीको लापरबाहीले विद्युत छाड्दा गैंडा मारेको घटनामा अदालतले ४ जनालाई जरिवाना तोकेको छ ।
२०७३ सालको साउन २५ गते करेन्ट लागेर गैंडा मरेपछि चितवन निकुञ्ज कार्यालयको तर्फबाट सोही वर्षको भदौ ५ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
९ जना विरुद्ध मुद्दा दायर भएकोमा अदालतले ४ जनालाई जरिवाना तोकेको छ भने अन्य पाँच जनाले सफाइ पाएका छन् । मेघौली सेराई होटल सीजी ग्रुपको समेत लगानी भएको होटल हो । अदालतले रितेश भट्टलाई एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
घटना हुँदा रितेश होटलका प्रबन्धकको रुपमा रहनु भएको थियो । त्यसै गरी होटलका नेचर गाइड रहेका दिपु शशीलाई अदालतले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । भने जिवन महतो र सुनिल महतोलाई पनि ५० र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।