माओवादी केन्द्रीय कार्यालय भंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माओवादी केन्द्रीय कार्यालय भंग

काठमाडौं, १२ भदौ । माओवादी केन्द्रले पार्टीको सर्वोच्च निकाय केन्द्रीय कार्यालय भंग गरेको छ । हेडक्वार्टरका नाममा माओवादीले पार्टीको माथिल्लो संरचना १५ महिनादेखि प्रयोगमा ल्याएको थियो। ०७३ जेठ ६ गते १० वटा माओवादी घटकबीच एकतापछि केन्द्रीय कार्यालय गठन गरिएको थियो । केन्द्रीय समिति चार हजारभन्दा माथिको बनेपछि माओवादीले कार्यालयलाई बढी कामकाजी बनाएको थियो ।

 

केही महत्वपूर्ण निर्णय लिनुपर्दा र तत्कालका कामका लागि माओवादीले कार्यालयबाटै निर्णय गराएर काम गर्दै आएको थियो । माओवादीले केन्द्रीय कार्यालय ३५ सदस्यीय बनाएको थियो । कार्यालय भंग भएसँगै केन्द्रीय सचिवालयलाई पार्टीको सर्वोच्च संगठनात्मक संरचना बनाउने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

 

अध्यक्ष पुष्पकमल दाहाल प्रदेश ७ को धनगढीमा आयोजित बैठक तथा प्रशिक्षण सकेर आइतबार नै काठमाडौं फर्केपछि लाजिम्पाटमा बसेको बैठकले केन्द्रीय कार्यालय भंग गर्दै केन्द्रीय सचिवालयलाई कार्यकारी संरचना बनाउने निर्णय गरेको हो । केन्द्रीय सचिवालय सदस्यमा ८२ सदस्य छन् । त्यसमा केही दिनअगाडि मात्रै एकतामा आएका देवेन्द्र पौडेल, रामचन्द्र झालगायत नेतालाई सहभागी गराई पूर्णतामा लैजाने तयारीमा माओवादी छ ।

 

पार्टी एकता प्रक्रियामा आएका नेतालाई समेट्ने उद्देश्यले नै केन्द्रीय कार्यालय भंग गरी सचिवालयलाई सर्वाेच्च निकाय बनाइएको माओवादीका अर्का नेता मणि थापाले बताए । ‘अहिले पार्टीमा एकता र ध्रुवीकरणको प्रक्रिया तीव्र हुँदै गएको छ । एकता प्रक्रियामा आएका साथीहरूलाई पनि सेमट्न हेडक्वार्टर भंग गरी सचिवालयलाई माथिल्लो निकाय बनाउने निर्णय गरिएको हो,’ थापाले अन्नपूर्णसँग भने ।

 

त्यसो त माओवादीको साउन पहिलो साता बसेको सचिवालयको विस्तारित बैठकले केन्द्रीय महाधिवेशन आयोजक समितिसमेत विघटन गरी दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरिसकेको थियो । यस विषयमा भने आइतबार बसेको बैठकले कुनै निर्णय गरेको छैन ।

 

त्यसैगरी, माओवादीले आगामी प्रदेश तथा केन्द्रको निर्वाचनमा लोकमणि ढकालको जनजागरण पार्टी नेपाल र प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीलाई आफ्नो चुनाव चिह्नमा निर्वाचन लड्न दिने निर्णय पनि गरेको छ । सिंह र ढकालले माओवादी पार्टीको गोलाकारभित्र हँसिया–हथौडा चुनाव चिह्नमा निर्वाचन लड्न चाहेपछि माओवादीले स्वीकार गरेको हो ।

विद्यार्थीमा सहमति प्रयास

माओवादी बैठकले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व अधिकतम सहमतिका आधारमा चयन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि पार्टी अध्यक्ष दाहालले नै पहल लिने निर्णय भएको छ । क्रान्तिकारी अध्यक्षमा प्रत्याशीहरू रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत र मदन अर्यालले अनिल शर्मालाई अध्यक्षमा स्वीकार गरेपछि शर्माकै नाममा सहमतिको खोजी गर्ने बैठकले निष्कर्ष निकालेको छ।

 

शर्मालाई रञ्जित तामाङले अहिलेसम्म छाडिसकेका छैनन् । तामाङले नेतृत्व चयन निर्वाचनमार्फत गर्न अडान लिएपछि क्रान्तिकारीको नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिरहेको छ । दाहालले विद्यार्थी नेतालाई बोलाई अब शर्माको नाममा सहमतिको खोजी गर्ने तयारी भएको माओवादीका एक नेताले बताए । अन्नपूर्ण पोष्टमा रामकृष्ण अधिकारीले समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);