काठमाडौं, १७ मंसिर । संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेका ४ देशका राजदुतविरुद्ध उजुरी नपरेको जनाएको छ । संसदीय सुनुवाई विशेष समितिका उपसचिव केशव अर्यालले सरकारले भारतका लागि राजदुत सिफारिस गरेका निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदुत सिफारिस गरिएकी अञ्जान शाक्यविरुद्ध उजुरी नपरेको जानकारी गराएको हो ।
समितिले अब ती सिफारिस गरिएका राजदुतहरुको योग्यता, क्षमता र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाउने छ । उजुरी नपरेपछि अव सिफारिस गरिएका राजदुतहरुलाई बोलाएर उनीहरुको योग्यता, क्षमता र कार्ययोजनामाथि छलफल हुने पनि उपसचिव अर्यालले जानकारी दिए । समितिले राजदुतमा सिफारिस भएका व्यक्तिहरुको योग्यता, क्षमता र कार्ययोजनामा चित्त बुझे उनीहरुको नाम अनुमोदन गर्नेछ ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि उनीहरुलाई राजदुत बन्ने बाटो खुला हुनेछ । कार्तिक २४ गते बसेको मन्त्रीपरिषद बैठकले चार देशका राजदुत सिफारिस गरेको थियो ।




