राष्ट्रसंघद्वारा घाइते हुथी लडाकुलाई यमनबाट बाहिर लैजाने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राष्ट्रसंघद्वारा घाइते हुथी लडाकुलाई यमनबाट बाहिर लैजाने तयारी

wounded houthi rebels

एजेन्सी , १७ मंसिर । संयुक्त राष्ट्रसंघले यमनमा जारी गृहयुद्धको क्रममा घाइते अवस्थामा रहेका हुथी लडाकुहरुलाई यमनबाट बाहिर लैजाने तयारी गरेको छ । यमनमा तीन वर्षदेखि हिंसा जारी रहेको छ । जारी हिंसाका कारण अहिलेसम्म कम्तिमा ६ हजार ८ सय सर्वसाधारणको ज्यान गएको छ । यस्तै १० हजार ७ सय भन्दा बढी घाइते भएका छन् ।

यमनमा शान्ति वार्ताको तयारी भइरहेका बेला विश्वासको वातावरण बनाउनका लागि संयुक्त राष्ट्रसंघले प्रयास थालेको हो । घाइते हुथी लडाकुलाई यमनबाट बाहिर लैजाने तयारी संयुक्त राष्ट्रसंघले गरेको जानकारी यमनमा हुथी बिद्रोहीविरुद्ध सैन्य अभियान चलाउँदै आएको साउदी अरेबिया नेतृत्वको गठबन्धनले दिएको हो । बिद्रोहीको नियन्त्रणमा रहेको राजधानी सनाबाट ५० घाइते हुथी लडाकुलाई सोमबार अबेर विमान मार्फत ओमान लैजाने तयारी भइरहेको छ ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा हुथी बिद्रोही र साउदी अरेबियाको साथ पाएको यमनको सरकारबिच केही दिनमै वार्ता सुरु हुने अपेक्षा गरिएको छ । यमनमा सन् २०१५ देखि जारी युद्धका कारण विश्वकै सबैभन्दा भयानक मानवीय संकटको अवस्था आएको छ । झण्डै चार वर्षको युद्धका कारण हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ मानिस भोकमरीको अवस्थामा पुगेका छन् ।

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेषदूत मार्टिन ग्रिफिथ्सको आग्रहमा यस्तो गर्न लागिएको बताइएको छ । स्वीडेनमा हुने भनिएको वार्ताअघि विश्वासको वातावरण बनाउनका लागि बिद्रोहीलाई उपचारका लागि यमनबाहिर लैजान लागिएको उनले पुष्टि गरेका छन् । संयुक्त राष्ट्रसंघले इरानको साथ पाएका हुथी र साउदीको साथ पाएको यमन सरकारबिच वार्ता गराउने प्रयास गरिरहेको छ ।

यसअघि गएको सेप्टेम्बरमा जेनेभामा वार्ताको प्रयास भएको थियो ।जारी हिंसाको क्रममा ८५ हजारको हाराहारीमा पाँच वर्षमुनिका बालबालिकाको कुपोषणका कारण ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहयोगी संस्था सेभ द चिल्ड्रेनले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । गएको महिना संयुक्त राष्ट्रसंघले यमनमा एक करोड ४० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

हिंसाका कारण यमनको ठूलो क्षेत्र पूर्ण रुपमा पुनर्निर्माण गर्नु पर्ने गरी ध्वस्त भएको छ । हुथी बिद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ मा यमनमा हवाई आक्रमण सुरु गरेको थियो । हुथी बिद्रोहीले यमनका राष्ट्रपति मन्सुर हादीलाई विस्थापित गरेपछि साउदी अरेबियाले आक्रमण थालेको हो ।

हिंसा तथा गठबन्धन सेनाले विभिन्न क्षेत्रमा गरेको नाकाबन्दीका कारण दुई करोड २० लाख भन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको छ । यमनमा अहिले विश्वकै सबैभन्दा ठूलो खाद्य आपतकालको अवस्था छ ।

यस्तै हैजको महामारीका कारण १२ लाख मानिस प्रभावित भएका छन् । युद्धका कारण यमनी मुद्राको मूल्य घट्नु र खाद्यान्नको मूल्य बढ्दै जानुले धेरै परिवार भोकमरीको जोखिममा आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);