काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको अनुभव मुलुकका लागि उपयोगी हुने बताएका छन् । प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री विष्टको देशभक्तिबाट आफू आकर्षित गरेको उल्लेख गर्दे प्रधानमन्त्रीका रुपमा उनले गरेको सहकार्य र अनुभव नेपाल राष्ट्र र नेपाली जनताका लागि अति उपयोगी हुने बताए।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच स्वर्गीय पूर्व प्रधानमन्त्री विष्टको अनुभव समेटिएको पुस्तक ‘कीर्तिनिधि विष्टः प्रखर राष्ट्रवादी नेपाली नेता’को विमोचन गर्दै उनले विष्टले आफ्नो पदलाई दाउमा राखेर भारतले नेपालको उत्तरी सीमामा राखेको चेकपोष्ट हटाउने प्रशंसनीय कार्य गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको स्वाभिमानलाई कायम राख्ने काममा कीर्तिनिधि विष्टले खेलेको भूमिका नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए ।

कीर्तिनिधि विष्टले प्रधानमन्त्री भएपछि भारतले नेपालको उत्तरी सीमामा राखेको चेकपोष्ट हटाउने काम गरेका थिए । विष्टको सो कामले नेपालको स्वाभिमानलाई उँचो बनाएको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री विष्टले सन्तुलित परराष्ट्र नीति लिएको पनि उल्लेख गरे । प्रखर राष्ट्रवादी नेता विष्टलाई प्रधानमन्त्री ओलीले मुलुकको निष्ठावान नेताको रुपमा पनि चित्रण गरे । पुस्तकमा पूर्व प्रधानमन्त्री विष्टले गरेको देशभक्तिपूर्ण काम र अनुभव समावेश गरिएको छ ।




