पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरोधमा फ्रान्स तनावपूर्ण, मंगलवार राष्ट्रपतिले संवोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरोधमा फ्रान्स तनावपूर्ण, मंगलवार राष्ट्रपतिले संवोधन गर्ने

france petrol julus

काठमाडौं, १० मंसिर । युरोपेली मुलुक फ्रान्सको राजधानी पेरिसमा डिजेल र पेट्रोलको मूल्य वृद्धिको विरोधमा भइरहेको प्रदर्शनका क्रममा तनावपूर्ण अवस्था सिर्जना भइरहेको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शनलाई लज्जास्पदको संज्ञा दिएका छन् । मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रनुपर्ने कुनै आवश्यकता नरहेको भन्दै राष्ट्रपति म्याक्रोले प्रदर्शनकारीहरुलाई संयमता अपनाउन आग्रह गरेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि राष्ट्रपति म्याक्रोले मंगलवार देशवासीका नाममा सम्वोधन गर्ने भएका छन ।

फ्रान्सको पेरिसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि दर्जनौं सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनमा दर्जनौं घाइते भएका छन् । राजधानी पेरिसको च्याम्प्स् एलिसमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामाको मागसहितका प्लेकार्ड बोकेर चर्को नारा लगाएका छन् । आन्तरिक मन्त्री क्रिस्टोफर कास्नटरले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका दक्षिणपन्थी राष्ट्रवादी पार्टीका कार्यकर्ताका कारण प्रदर्शन चर्केको आरोप लगाएका छन् ।

पेट्रोलको मूल्य वृद्धिको विरोधमा विगत दुई हप्तादेखि पेरिसमा प्रदर्शन हुँदै आएपनि पछिल्ला दिनमा अवस्था हिंस्रक हुन थालेको छ । पेरिसको संवेदनशील मानिने शाँज एलीजे क्षेत्रमा प्रहरीले बनाएको बार तोड्ने प्रयासमा लागेका केही प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका कारण अवस्था बिग्रिएको हो । आक्रोशित प्रदर्शनकारीले कैयौं गाडीमा आगो लगाइदिएका छन् । शाँज एलीजे इलाकामा प्रधानमन्त्रीको कार्यालय समेत केही अन्य महत्वपूर्ण भवनहरु रहेका छन् । फ्रान्समा चल्ने कार धेरैजसो डिजेलबाट चलाइने गरेको छ ।

देशमा गएका १२ महिनामा डिजेलको मूल्य करिब २३ प्रतिशत बढेको छ । मूल्य औसतमा १ दशमलब ७१ डलरका दरले बढेको छ । सन् २००० पछि यो धेरै बढेको हो । विश्वमा नै अहिले कच्चा तेलको मूल्य बढेको छ । यद्यपि फ्रान्समा मूल्य कम नै थियो । तर, इमानुयल सरकारले डिजेलमा प्रति लिटर ७ दशमलब ६ सेन्टले प्रति लिटर तथा पेट्रोलमा ३ दशमलब ९ प्रतिलिटर हाइड्रो कार्बन शूल्क लगाएको छ । यसबाहेक १ जनवरी २०१९बाट डिजेलको मूल्य ६ दशमल ५ सेन्ट र पेट्रोलको मूल्य २ दशमलब ९ सेन्ट बढाउने निर्णय पनि सरकारले गरेको छ ।

विरोध प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् । प्रहरीले कम्तिमा ५० जनालाई गिरफतार गरेको छ । फ्रान्सका राष्ट्रपतिले मंगलबार देशको पछिल्लो अवस्थाका बारेमा देशबासीका नाममा सम्बोधन गर्ने भएका छन । इन्धनको मूल्य वृद्धिका कारण उत्पन्न तनाव अन्त्य गर्न उनले के भन्छन् त्यो भने सम्बोधन पछि नै थाहा हुनेछ ।

ताजा समाचार