नेविसंघको महाधिवेशन २ महिना हैन ६ महिनापछि सार्नुपर्छ : डा. शशांक | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

नेविसंघको महाधिवेशन २ महिना हैन ६ महिनापछि सार्नुपर्छ : डा. शशांक

sashanka-koirala

काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन दुई महिनापछि सार्ने पार्टी केन्द्रिय कार्य समितिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव नरहेको भन्दै पार्टी केन्द्रिय कार्य समितिको आईतबार बसेको बैठकको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आफू नेविसंघको महाधिवेशनको मिति ६ महिना पछि सार्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।

आईतबार साँझ बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको म्याद २ महिना मात्रै थप गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो । तर महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव छ भनि सभापति देउवालाई प्रश्न गरेका छन् ।

महामन्त्री कोइराला आइतबारको केन्द्रिय कार्य समिति बैठकमा उपस्थित भएका थिएनन् । फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने उनको प्रतिक्रिया थियो ।

महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक अब सार्न नहुने धारणा राखेका छन् । आगामी मंसिर २८ गतेबाट सुरु हुने भनि गरिएको निर्णय अनुसार नै महासमिति बैठक बस्नुपर्ने उनको अडान छ ।

महामन्त्री कोइरालाले पार्टीको विधान निर्माणमा गम्भिर भएर लाग्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);