श्रीलंकाका राष्ट्रपतिद्वारा संसद भङ्ग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

श्रीलंकाका राष्ट्रपतिद्वारा संसद भङ्ग

maithripala sirisena

एजेन्सी , २४ कात्तिक । प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलंकाका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका छन् ।

स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद भङ्ग भएसँगै ज्यानुअरी ५ मा त्यहाँ आमचुनाव हुनेछ । यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ ।

बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिङ्गको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ । विक्रमसिङ्गलाई हटाएर उनको ठाउँमा राजापक्षलाई ल्याउने राष्ट्रपतिको प्रयासपछि त्यहाँ उत्पन्न राजनीतिक सङ्कटमा अर्को मोड थपिएको छ।

गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिङ्गलाई बर्खास्त गर्दै उनको स्थानमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई अघि सारेका थिए । राष्ट्रपतिले संसद् र मन्त्रिपरिषद् दुवै निलम्बन गरेका थिए । तर सो कदम गैरकानूनी भन्दै विक्रमसिङ्गले पद छाड्न अस्वीकार गर्दै आएका छन्।

देशको नाममा गरिएको आफ्नो सम्बोधनमा सिरिसेनाले प्रधानमन्त्रीको नियुक्ति संविधान अनुसार नै र कानुनविद्हरूको सल्लाहमै गरिएको बताएका थिए।