संसद चलिरहेकै बेला श्रीलंकामा सांसदहरुबीच कुटाकुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संसद चलिरहेकै बेला श्रीलंकामा सांसदहरुबीच कुटाकुट

एजेन्सी, २९ कात्तिक । संसद भनेको जनप्रतिनिधिहरुको सदन हो र यहाँ नीति नियमको निर्माण हुन्छ । संसद विश्वभर जुनसुकै देशको पनि उच्च सम्मानित संस्था हो । तर श्रीलंकाको संसदलाई त्यहाँका सांसदहरुले झडप स्थलको रुपमा रुपान्तरण गरेका छन् ।

श्रीलंकाका प्रभावशाली नेता एव पुर्व राष्ट्रपति समेत रहेका महिन्द्रा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार कुटाकुट नै भयो । संसदले बुधबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाबाट प्रधानमन्त्रीमा नियुक्त गरिएका राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा उनका समर्थक सांसदले नाराबाजी गर्दै सभामुखमाथि नै आक्रमणको प्रयास गरेका थिए ।

बिहीबार संसद बैठक सुरु हुनासाथ राजापाक्षेले आफूलाई ध्वनीमतका आधारमा हटाउने अधिकार सभामुखलाई नभएको भन्दै सभामुखको निर्णयको विरोध गरेका थिए ।

राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्तावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने बताएपछि झडप सुरु भएको हो । केही सांसदहरु भने सभामुखविरुद्ध नाराबाजी गर्दै अगाडि बढेका थिए ।

त्यसक्रममा ३० भन्दा बढी सांसदहरुबीच कुटाकुट भएको बताइएको छ । राजापाक्षेका समर्थक केही सांसदले सभामुखलाई पानीको बोतल, किताब आदि प्रहार गरेपछि सुरक्षाकर्मीले स्थिति सामान्य पारेका थिए ।

राजापाक्षेका विरोधी सांसदहरुले भने सभामुख कारु जयसूर्यालाई घेरेर सुरक्षा दिएका थिए । गत अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले निर्वाचित प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

तर, उनको नियुक्तिलाई लिएर व्यापक विरोध भएको थियो । राष्ट्रपति सिरिसेनाले संसद विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेका थिए । तर, सर्वोच्च अदालतले त्यसलाई पनि तत्कालका लागि रोक लगाएको छ ।

यस्तै, राष्ट्रपति सिरिसेनाद्वारा अर्को वर्ष हुनेगरी घोषणा गरिएको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ । राष्ट्रपति सिरीसेनाको कदम पछि श्रलिंकामा राजनीतिक संकट गहिरिँदै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);