५० हजारको लोभले बेचिँदै नेपाली चेली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

५० हजारको लोभले बेचिँदै नेपाली चेली

nepali cheli

नेपालगन्ज, २० कात्तिक । २१ वर्षीया सरिता क्षेत्री (नाम परिवर्तन) महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् ।

दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए । दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा २३ अक्टोबरमा क्षेत्रीको उद्दार भयो ।

उद्दार गरिएका सबैलाई माइती इण्डियाले सोमबार बाँके प्रहरी र माइती नेपाल नेपालगन्जलाई उनलाई हस्तान्तरण गरेको छ । खाडी मुलुकमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्दार गरी माइती नेपाल फर्काइएको हो ।

उद्दार गरिएकामा झापाका १० जना छन् । कास्की, काभ्रे, सुनसरी, सप्तरी, कपिलवस्तु, दैलेख, मोरङका दुई/दुई जना छन् । सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयपुर, रामेछाप, काठमाडौं, दाङ, इलाम, तेह्रथुमलगायकाका जिल्लाका एक÷एक जना रहेको माइती नेपालले जनाएको छ । उनीहरू कम्तीमा २१ वर्षदेखि बढीमा ४२ वर्षसम्मका छन् ।

उद्दारकर्ता माइती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार यी महिलालाई भारतको अवैध बाटोबाट खाडी मुलुकमा रोजगारीमा पठाउने भन्दै लगिएको थियो । पाण्डेले भने, ‘एकजना महिला पठाए वापत मुख्य दलालले खाडीका साहुबाट ४ लाख भारु पाउने रहेछन् । त्यो रकममध्ये काठमाडौंस्थित दलालको भागमा एक लाख, गाउँमा महिला सम्पर्क गराउनेदेखि दलालको सम्पर्कमा ल्याउनेलाई पाँच हजारदेखि २० हजार दिइने गरेको थियो ।’

सित्तैमा जान पाइने र मनग्गे कमाउने आशामा नेपाली महिला दलालको फन्दामा पर्ने गरेको माइती इण्डियाले जनाएको छ । यसरी लैजाने महिलालाई कुबेत, साउदीलगायतका खाडी मुलुकमा अवैध बाटोबाट पुर्‍याइने रहेछ । उद्दार गरिएकाहरूलाई दुई दिनदेखि दुई महिनासम्म नयाँ दिल्ली नजिकै गाजियाबादमा परिवारलाई सम्पर्क गर्न नदिएर राखिएको थियो ।

६ जना भन्दा बढी यसअघि गइसकेर फर्केका थिए । उद्दार गरिसकेपछि पनि उनीहरू दलालकै बचाउमा उत्रेका थिए । महिलालाई दलालले भारतीय बजारमा किनमेल गर्न जाने भन्दै बिर्तामोड, निजगढ, सुनौली, बर्दियालगायतका नाकाबाट भारत पुर्‍याएका थिए ।
मुख्य दलाल भारतीय
माइती इण्डियाका अनुसार केदार नामका भारतीयले नेपाली चेलीलाई भारती बाटो हुँदै खाडी मुलुकमा बेच्ने गरेको खुलेको छ । यो कार्यमा थप दुई भारतीय र २ जना नेपाली संलग्न गिरोह सक्रिय छ । यसअघि केदारले बेच्न लगेका मध्ये दिल्लीको महिपालबाट ५७ जना र पहाडगन्जबाट २४ जनाको उद्दार गरिएको थियो । उद्दार गरिएका २ जना महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले केदारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

गाजियावाद जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको पाण्डेले बताए । गिरोहका रहेका दुई नेपाली सदस्य फरार छन् । एक जना काठमाडौं र अर्का दुबइमा रहेकाले उनीहरूलाई पक्राउ गर्न भारतीय प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गरेको छ ।

कोठीबाट तीनको उद्दार
टोलीले भारतको नयाँ दिल्लीस्थित जीबीरोडको वेश्यालयमा बेचिएका तीन जना महिलाको पनि उद्दार गरेको छ । दुई जना सिन्धुपाल्चोक र एक जना नुवाकोटका छन् । उद्दार टोलीले केही दिन दिल्लीकै नारी निकेतनमा राखेर अन्य महिलासँगै नेपाल ल्याइएको थियो ।
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले १५ जना महिलालाई काठमाडौं, २१ जनालाई झापा, भैरहवा र मोरङको माइती नेपालमा पठाएर बाँकी ४ जनालाई नेपालगन्जमा राखेर काउन्सिलिङ गरिने बताए । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);