धमाधम स्थानीय तहका केन्द्र परिर्वतन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धमाधम स्थानीय तहका केन्द्र परिर्वतन

sthaniya taha

काठमाडौं, २० कात्तिक । गाउँसभा र नगरसभामा प्रस्तावै नलगी स्थानीय तहले केन्द्र परिर्वतन गरेका छन् ।

सात सय ५३ तहमध्ये ६६ गाउँपालिका र नगरले स्थानीय तह पुनर्संरचना आयोगले तोकेभन्दा अन्तै मुकाम सारेका हुन् । पुनर्संरचना आयोगले भौगोलिक अवस्थिति र स्थानीयको सुविधालगायत अध्ययन गरेर स्थानीय तह पुनःसंरचना गरेको थियो । जनप्रतिनिधिले आफ्नो राजनीतिक शक्ति तथा स्वार्थ देखाउन केन्द्र बदल्न थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले अन्नपूर्णलाई बताए ।

मन्त्रालय स्रोतका अनुसार जनप्रतिनिधिले निजी एवं राजनीतिक स्वार्थमा केन्द्र परिर्वतन गरेका हुन् । केन्द्र परिवर्तनलाई लिएर विवाद समेत सिर्जना भएको मन्त्रालयको भनाइ छ । ‘केन्द्रमा स्थानीय तहका मुख्य कार्यालयहरू रहने भएकाले सबैको चासो रहन्छ । तर स्थानीयको भावना र जनमत नलिई धमाधम केन्द्र परिर्वतन गर्ने क्रम बढेका कारण विवाद चुलिँदो छ,’ ती उच्च अधिकारीले भने ।
कहाँ कहाँ फेरिए केन्द्र
इलामको सन्दुकपुर गाउँपालिकाको केन्द्र वडा ३ माबुभोड देउरालीमा सारिएको छ । सुनसरीको भोक्राहा गाउँपालिकाको केन्द्र चिरौली चोक कायम भएको छ । त्यसैगरी खोटाङमा लामिडाँडा गाउँपालिकाको केन्द्र खार्पामा थियो । अहिले कुभिण्डेको हरम्टार पुर्‍याइएको छ । साकेला गाउँपालिकाको केन्द्र मातिमबाट वडा ४ स्थित मानेभञ्ज्याङ, बराहपोखरी गाउँपालिकाको केन्द्र साउनेचौरबाट बाघखोर भञ्ज्याङ सारिएको छ ।
दोलखाको बैतेश्वर गाउँपालिकाको केन्द्र काब्रेमा थियो । अहिले वडा ६ को पाँडुडाँडामा केन्द्र कायम भएको छ । रामेछापको लिखु गाउँपालिकाको केन्द्र बिजुलीकोटबाट चित्रे चौतारो, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको केन्द्र किउलबाट बाहुन ढोडेनी कायम गरिएको छ । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाको केन्द्र ढाँडखर्क भञ्ज्याङ, महाभारत गाउँपालिकाको बनखुचौरबाट देविटार कायम गरिएको छ । मकवानपुरमा बागमती गाउँपालिकाको बनखुचौर केन्द्र देवीटारमा सारिएको छ । सोही जिल्लाको बकैया गाउँपालिकाको छतिवन गाउँपालिकाको कार्यालय हात्तीसुँढे र मनहरी गाउँमापालिकोको कार्यालय रजैयामा कायम गरिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको कार्यालय कुरिनार सारिएको छ । धादिङको नेत्रावती गाउँपालिकाको केन्द्र तिखाढुंगाबाट सेमजोङ सारिएको छ । नुवाकोटको मेघाङ गाउँपालिकाको केन्द्र देउरालीबाट मानेब्ले पुर्‍याइएको छ । रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको केन्द्र गोल्जुङ बेसी कायम गरिएको छ ।
मनाङको डिस्याङ गाउँपालिकाको केन्द्र नेस्याङ ४ हुम्डे र नर्पा भूमि गाउँपालिकाको केन्द्र च्याँखु कायम गरिएको छ ।

म्यादीमा रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानीबाट मौवाफाँट, धवलागिरी गाउँपालिकाको केन्द्र मुनाबाट सातमुले घट्टेखोला र अन्नपूर्ण गाउँपालिकाको केन्द्र घारबाट पोखरेबगर सारिएको छ । गोरखाको भिमसेनथापा गाउँपालिकाको केन्द्र बगुवाबाट मसेल घ्याम्पेसाल, गोरखाकै धार्चे गाउँपालिकाको केन्द्र गुम्दाबाट माछिखोला सारिएको छ । तनहुँको घिरिङ गाउँपालिकाको केन्द्र गजरकोटबाट पोखरीछाप कायम भएको छ ।

स्याङजाको गल्याङ नगरपालिकाको केन्द्र जगत्रदेवी गुठीबाट गल्याङबार सारिएको छ । त्यस्तै रोल्पा दुईखोली गाउँपालिकाको केन्द्र राङकोटबाट पुल्लाचौर पुर्‍याइएको छ भने सल्यानको कुमाख गाउँपालिकाको मर्मपारिडाँडामा रहेको केन्द्रलाई रागेचौर कायम गरिएको छ । सल्यानकै सिद्धकुमाख गाउँपालिकाको केन्द्र ढोरचौर र दर्मा गाउँपालिकाको केन्द्र फारुलाचौर कायम गरिएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र मुरूबाट सिमुतु खारानेटा पुर्‍याइएको छ । जाजरकोटमा कुशे गाउँपालिकाको केन्द्र बाटुल्लेबाट थुपु भार्मा, नलगाड नगरपालिकाको केन्द्र खगेनकोट मन्मैबाट दल्ली सारिएको छ ।

डोल्पाको मुड्केचुला गाउँपालिकाको केन्द्र नर्कुबाट ईलनिलदह कायम भएको छ । हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र मुचुबाट याल्वांग कायम भएको छ । बाजुराको जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डी कायम भएको छ । बझाङको साइपाला गाउँपालिकाको केन्द्र काँडा पुर्‍याइएको छ । दार्जुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट होपरी गाड सारिएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिकाको केन्द्र मेमेङबाट थोक्लिम्बा कायम गरिएको छ । झापाको हल्दीबारी गाउँपालिकाको केन्द्र जलथलबाट धनुष पोखरी पुर्‍याइएको छ । भोजपुरको टेम्केमैयुङको केन्द्र अन्नपूर्ण सारिएको छ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाकोकेन्द्र बासाबाट खास्ताप सारिएको छ ।

सप्तरीको अग्निसाइर कृष्णासरवन गाउँपालिकाको केन्द्र सीतापुर सारिएको छ भने राजगढ गाउँपालिकाको बेल्ही चपेना केन्द्र नर्खोमा कायम गरिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको केन्द्र झनझने पुर्‍याइएको छ ।

नुवाकोट पञ्चकन्या गाउँपालिकाको मोठ भञ्जाङ केन्द्र लाकुरी भञ्ज्याङ कायम गरिएको छ । मकवानपुर राक्सिराङ्ग गाउँपालिकाको राक्सिराङ्ग केन्द्र चैनपुर पुर्‍याइएको छ । लमजुङको दूधपोखरी गाउँपालिकाको केन्द्र लेवरचोक तोकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र माछापोखरीमा कायम गरिएको छ ।

पर्वतको जलजला गाउँपालिकाको माझफाँट केन्द्र लामाखेतमा सारिएको छ भने गुल्मीको छत्रकोट गाउँपालिकाको केन्द्र हर्दिनेताको चोएगामा कायम भएको छ । गुल्मीकै धुर्कोट गाउँपालिकाको केन्द्र भने बर्बोट कायम भएको छ ।

रुपन्देहीको कञ्चन गाउँपलिकाको केन्द्र गजेडीबाट व्यहोरीमा सारिएको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिकाको केन्द्र बुड्ढी कायम गरिएको छ । अर्घाखाँचीको पाणिनी गाउँमालिकाको केन्द्र भने दुर्गाफाँट तोकिएको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाको केन्द्र मिझिङबाट सुनिलचौर कायम गरिएको छ । रोल्पाकै गंगादेव गाउँपालिकाको केन्द्र जिनावाङबाट सानाडाँडा सारिएको छ । रुकुमको पूर्वको भूमे गाउँपालिकाको केन्द्र खाबाङबगर तोकिएको छ ।

दाङको बबई गाउँपालिकाको केन्द्र हापुरे कायम भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको केन्द्र अगैया पुर्‍याइएको छ भने बैजनाथ गाउँपालिकाको केन्द्र रामपुरमा तोकिएको छ । दैलेखको महावु गाउँपालिकाको केन्द्र गौडाबाजामा कायम गरिएको छ ।

जाजरकोट बोरेकोट गाउँपालिकाको केन्द्र लिम्सा सारिएको छ भने डोल्पाको ठूलो भेरी नगरपालिकाको केन्द्र जुफालमा कायम गरिएको छ । कालिकोटको शुभकालिका गाउँपालिकाको केन्द्र कालेखोला कुकाटिया कायम भएको छ । बाजुरा गौमुल गाउँपालिकाको केन्द्र मानाकोटबाट घटमुनामा सारिएको छ भने स्वामीकार्तिक खापर गाउँपालिकाको केन्द्र सुइजिउला वाई तोकिएको छ ।

डोटीको सायल गाउँपालिकाको केन्द्र डौडबाट दुलिाडा ओमनगरमा सारिएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सपल्ला बान्चोरा पुर्‍याइएको छ भने बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा कायम भएको छ । पर्साको कालिकामाई गाउँपालिकाको केन्द्र हरिहरपुर विर्ता कायम गरिएको छ । त्यस्तै दार्जुला लेकम गाउँपालिकाको केन्द्र रातामाटामा सारिएको छ । पर्साको विन्धवासिनी गाउँपालिकाको केन्द्र प्रसौनीभाठामा पुर्‍याइएको छ । धादिङको थाक्रे गाउँपालिकाको केन्द्र महादेववेशीमा कायम गरिएको छ । पर्वतको मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजारमा सारिएको छ ।
यस्तो छ कानुनी प्रावधान
स्थानीय सरकार सञ्चालन ऐनको दफा ४ मा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्रसम्बन्धी व्यवस्था छ । उपदफा ३ मा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिर्वतन गर्नु परेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित प्रस्ताव प्रदेशमार्फत सरकारमा पठाउनु पर्ने प्रावधान छ । प्रस्ताव उपयुक्त लागेमा सरकारले गाउँपालिका र नगरपालिकाको नाम परिर्वतन गर्न सक्छ ।

गाउँपालिका र नगरपालिकाको निर्वाचन भएको मितिले छ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट पारित गरेर एक पटकको लागि गाउँपालिका र नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्न केन्द्र सरकारलाई सिफारिस गरेमा सो सिफारिस बमोजिम नाम र केन्द्र परिर्वतन गर्नुपर्ने व्यवस्था छ । सभाले सम्बन्धित वडाको सिफारिसमा देहायका आधारमा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी वडाको केन्द्र तोक्ने छ ।

यसरी केन्द्र तोक्दा भौगोलिक निरन्तरता, अनुकूलता तथा विशिष्टता, भाषिक, सांस्कृतिक तथा सामाजिक विशिष्टता, सेवा सुविधाको वितरणको अवस्था तथा सुगमता र विद्यमान भौतिक पूर्वाधार समेत ख्याल गर्नु पर्ने ऐनले स्पष्ट गरेको छ । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);