पर्साका अधिकांश स्थानीय तहमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०७९, बुधवार

पर्साका अधिकांश स्थानीय तहमा तालाबन्दी

अनुप तिवारी

पर्सा, १२ चैत । पर्साको अधिकांश स्थानीय तहका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिका र नगरपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने निर्णयको विरोधमा अधिकांश स्थानीय तहमा तालाबन्दी गरिएको हो । स्थानीय, जनप्रतिनिधि र कर्मचारीको बन्द हड्ताल र तालाबन्दीले स्थानीय तहको कामकाज ठप्प भएको छ ।

पर्साको १४ वटा स्थानीय तहमध्ये ७ वटामा तालाबन्दी गरिएको छ । गाउँपालिका र नगरपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने निर्णयको विरोधमा तालाबन्दी गरिएको हो । नाम र केन्द्र परिवर्तनमा सर्वपक्षिय निर्णय हुन नसक्दा विवाद चुलिएको छ ।

ठोरी गाउँपालिकाको पहिलो बैठकले नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेसँगै तालाबन्दी भएको थियो । ५५ दिनपछि ताला खोलिए पनि बन्द हड्ताल कायमै छ ।

त्यस्तै बिन्दवासनी गाउँपालिकाको केन्द्र बहुअर्वा भाठाबाट प्रसौनीमा सार्ने निर्णयको विरोधमा एक महिनादेखि तालाबन्दी गरिएको छ ।

त्यस्तै बहोदरामाई नगरपालिकामा कर्मचारी नियुक्तिको विरोधमा तालाबन्दी गरिएको छ । विवादका कारण कालिकामाई गाउँपालिका र पर्सागढी नगरपालिकामा पनि विवाद उस्तै छ । पोखरिया नगरपालिकामा पनि विवादले एक साता तालाबन्दी भयो ।

बन्द, हड्ताल र तालाबन्दीले विकास निर्माणका काम हुन सकेको छैन । निर्वाचनमा पराजित भएकाहरुले विवाद झिकेको जनप्रतिनिधिहरुको भनाई छ ।

बन्द, हड्ताल र तालाबन्दीले स्थानीय तह ठप्प हुँदा पनि विवाद समाधानका लागि जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र राजनीतिक दलहरुले चासो दिएका छैनन् ।

स्थानीय तहको निर्वाचनपछि विकास निर्माणले गति लिनेमा जनता विश्वस्त थिए । तर ठिक विपरित स्थानीय तह संचालन भएका छन् । जसका कारण जनता निराश हुन थालेका हुन् ।

आर्थिक बर्ष सकिन ३ महिना मात्र बाँकी छ । बन्द हड्ताल र तालाबन्दीले स्थानीय विकासका योजना अलपत्र परेका छन् । त्यसैले विवाद समाधानका लागि तत्काल सम्बन्धित निकायले ध्यान दिनु आवश्यक रहेको कतिपय स्थानियले बताएका छन् ।