नेपाल-मलेसियाबीच महत्वपूर्ण श्रम समझदारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल-मलेसियाबीच महत्वपूर्ण श्रम समझदारी

काठमाडौं, १२ कात्तिक । नेपाल र मलेसिया सरकारबीच नेपाली कामदार लैजाने विषयमा महत्वपूर्ण समझदारी भएको छ । नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशोधनमन्त्री एम कुला शेघरानले सोमबार काठमाडौंमा नेपाली कामदार लैजाने विषयमा महत्वपूर्ण श्रम सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाली कामदार मलेसिया जान थालेको दुई दशकपछि गरिएको समझदारीसँगै हवाई टिकट, भिसा, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच वापतका खर्च नेपाली कामदारले व्यहोर्न नपर्ने भएको छ ।

हस्ताक्षरपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टले सो समझदारीलाई ऐतिहासिक, सुःखद् र अत्यन्तै सकारात्मक भएको बताए ।

उनले सो समझदारीले वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउने तथा दुई मुलुकबीचको सम्बन्धलाई झनै उन्नत बनाउने विश्वास व्यक्त गरेका छन् ।

विगतमा कामदारलाई लाग्दै आएको लेभी पनि सो समझदारीसँगै हटेको छ । कामदारको पारिश्रमिक हरेक महिनाको ७ दिन भित्र बैकमार्फत् भुक्तानी गर्ने व्यवस्था पनि समझदारीमा गरिएको मन्त्री विष्टले बताए ।

त्यसैगरी महिला कामदारहरुको सुरक्षा, संरक्षण र रेखदेखबारे पनि समझदारीमा उचित व्यवस्था गरिएको छ । मलेसियामा कार्यरत नेपाली कामदारको कार्यरत रहेकै बेला मृत्यु भएमा १५ दिन भित्र शव स्वदेश ल्याउने व्यवस्था पनि गरिएको छ ।

त्यसैगरी कार्यस्थलमा हुने कामदारको दुर्घटना विमा र स्वास्थ्य विमा नेपाली कामदारको हकमा पनि लागू गर्ने व्यवस्था मलेसिया सरकारले गर्नेछ ।

समझदारी अनुसार नेपाली कामदारले आफ्नो भिसा आफैसँग राख्न पाउनेछन् । समझदारी कार्यान्वयनका लागि दुवै देशका सरकारी पदाधिकारी रहने गरी ‘संयुक्त कार्य समूह’ पनि गठन गरिएको छ ।

मलेसियाका मानव संशाधन मन्त्री कुला शेघरानले सो समझदारीले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय श्रमिक संगठनको प्रावधान अनुसार आफ्नो सरकारले बाह्य मुलुकका कामदारलाई पनि आफ्नै देशको कामदार सरह व्यवहार गर्ने नीति अनुसार नेपालसँग पनि श्रम सम्बन्धि समझदारी गरेको बताए ।

दुई मुलुकबीचको श्रम सम्झौंताले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन महत्वपूर्ण वातावरण तय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टले बताए । मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य हो । वैदेशिक रोजगारीमा जाने करिव ३० प्रतिशत नेपाली कामदार मलेसियामा कार्यरत रहेको सरकारी तथ्यांक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);