खण्डहर रानीपोखरी एक दिनमात्रै खुल्ने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

खण्डहर रानीपोखरी एक दिनमात्रै खुल्ने

ranipokhari

काठमाडौं, १० कात्तिक । खण्डहर बन्न पुगेको रानीपोखरी र त्यसको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण हुन नसके पनि भाइटीकाको दिन खुला हुने भएको छ।

काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको रानीपोखरीमा रहेको बालगोपालेश्वरको मूर्ति ल्याएर एक दिनका लागि मात्र खुला गर्न लागिएको हो। हाल छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको सो मूर्ति भाइटीकाको अघिल्लो दिन रानीपोखरी परिसरमा राखेर सर्वसाधारणलाई खुला गर्ने तयारी भइरहेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

उक्त मन्दिर हरेक वर्ष भाइटीकाको दिनमात्र खोलिन्छ। दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले मन्दिरमा भाइटीका लगाउने गर्दछन्। मन्दिरमा प्रवेश गर्न नपाए पनि भाइटीका लगाउन र सबैका लागि मूर्ति दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको प्रवक्ता कार्कीले बताए।

विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त भएको सो मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले शुरू गरेको थियो। गत असारभित्रै पुनर्निर्माण गरिसक्ने बताइए पनि कामपासँगको विवादपछि स्थगित भएको थियो।

यसअघि कामपाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण शुरू गरेको थियो तर उक्त बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरिएको र निर्माणका क्रममा सिमेन्ट प्रयोग भएको भन्ने विषयमा विवाद भएपछि कामपाले मल्लकालीन शैलीमै मन्दिर बनाउने जनाउँदै सम्पूर्ण काम स्थगित गरेको थियो। प्रवक्ता कार्कीले मल्लकालीन शैलीमै मन्दिर बनाउने तयारी भइरहेको जानकारी दिए।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार