ए डिभिजन लिग : मनाङ मर्स्याङ्दीको विजयी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिग : मनाङ मर्स्याङ्दीको विजयी शुरुवात

Football

काठमाडौं, २६ असोज । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दीले विजयी शुरुवात गर्दा हिमालयन शेर्पा र एपीएफ गोल रहित बराबरीमा रोकिएका छन् । एन्फा मैदान सातदोबाटामा शुक्रबार भएको दोस्रो खेलमा मनाङले व्रिगेड ब्वाईजलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिगमा सुखद् शुरुवात गरेको छ ।

पहिलो हाफमा १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै मनाङ दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । २८औं मिनेटमा रजत तिवारीले गोल गरेका थिए । डी बक्स बाहिरबाट तिवारीले प्रहार गरेको बललाई मनाङका किपरले क्लियर गर्न नसक्दा गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको शुरुमै मनाङका हेमन गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ५७औं मिनेटमा वलावाल अफिजले गोल गर्दै मनाङलाई २–१ को अवस्थामा पुर्याए । मनाङले तेस्रो गोल इन्जुरी समयमा गरेको थियो । यस पटक पनि नाइजेरियाली स्ट्राइकर अफिज नै सफल भए ।

यसअघि शुक्रबार नै भएको पहिलो खेलमा हिमालयन शेर्पा र विभागीय टोली एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडे । निरस खेलमा दुवै टोलीले एउटा पनि सशक्त प्रहार गर्न सकेनन् ।

यो सँगै ए डिभिजिन लिगको पहिलो चरणको खेल सकिएको छ । असोज १३ गतेबाट शुरु भएको ए डिभिजन लिग बंगबन्धु गोल्डकपका कारण केहिदिन स्थगित भएर असोज २४ गतेबाट पुनः शुरु भएको थियो । लिगका बाँकी खेलहरु तिहारपछि मात्रै शुरु हुने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);