दाजु बोकेरै विद्यालय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दाजु बोकेरै विद्यालय

didi vai

गोरखा, २३ असोज । पालुङटार ९ धूवाँकोटस्थित मदनेडाँडा माविमा बिहान १० बज्नै लाग्दा सधैंजसो देखिने दृश्य अरू विद्यालयमा दुर्लभ हुन सक्छ  । बैनीको पिठ्युँमा बोकिएर दाजु सधैं पढ्न आउँछन्  ।

बागलुङमा सञ्चालित धौलागिरि बहिरा माविमा अध्ययनरत विद्यार्थी । यहाँ बहिरा र सामान्य विद्यार्थी सँगै राखेर पढाइन्छ । सबेरै उठ्नु, अपांगता भएका दाजुलाई स्याहारसुसार गर्नु र बोकेर विद्यालय आउनु, ३ कक्षा पढ्ने १२ वर्षीया सुस्मिता बरामको दैनिकी बनेको छ ।

एक हातले कापीकिताब च्याप्दै ४ कक्षा पढ्ने दाजु १३ वर्षीय लक्ष्मणलाई बुइँमा बोकेर सुस्मिता विद्यालय पुग्छिन् । जन्मजातै अपांगता भएका लक्ष्मणको खुट्टा टेकिँदैन । धूवाँकोटको छेरकबाट विद्यालय पुग्न सामान्यतया ४५ मिनेट पैदल हिंड्नुपर्छ ।

दाजुलाई बोकेर घरबाट कक्षा पुग्न डेढ घण्टा अतिरिक्त समय लागेपछि हाल उनीहरू विद्यालय नजिकै डेरा गरेर बसेका छन् । डेराबाट विद्यालयसम्म दाजुलाई पुर्‍याउन बहिनीले सघाएकी हुन् । ‘बजैले खाना बनाएर ल्याइदिनुहुन्छ । कपडा लगाएपछि आफैं दाजुलाई बोकेर स्कुल ल्याउँछु,’ सुस्मिता भन्छिन्, ‘पहिले त बोक्न सजिलो थियो । अहिले ठूलो हुँदै गयो । बोक्न पनि गाह्रो हुन थाल्यो ।’ लक्ष्मणलाई पढ्न आउजाउमा सजिलोका लागि विद्यालयले कोठामा बस्ने वातावरण बनाइदिएको हो । ‘एक वर्षसम्म घरबाटै बोकेर ल्याउँथेँ । अहिले डेरामा बस्छौं, धेरै सजिलो भएको छ,’ उनले भनिन् ।

डेरामा बसेका नातिनातिनालाई ५७ वर्षीया हजुरआमा सुनमायाले छेरेकबाट दैनिक खाना ल्याउँछिन् । ‘खाना म माथि घरबाटै ल्याउँछु । राति पनि यहीँ बस्नुपर्छ,’ सुनमायाले भनिन्, ‘शुक्रबार घर जान्छु भन्छ । बोकेरै लैजाने हो, कहिले म, कहिले नातिनीले बुइँमा बोकेर ल्याउँछौं ।’ विद्यालयमा दिसापिसाब गर्न पनि साथीको सहारा चाहिने लक्ष्मण बताउँछन् ।

लक्ष्मणको अवस्थाबारे केही सञ्चारमाध्यममा खबर आएको थियो । ‘पहिले त खुट्टाले टेक्दै टेक्थेन,’ सुनमायाले भनिन्, ‘अहिले एउटा संस्थाले सहयोग पनि गरेको छ । बनेपा लगेर उपचार गरेपछि अलि अलि टेक्न थाल्यो ।’ हिँड्नै नसक्ने लक्ष्मण विभिन्न संघसंस्थाको सहयोगमा उपचार पाएर पाइला सार्न सक्ने भएपछि सुनमाया खुसी छन् । लक्ष्मण पूर्णरूपमा आफूमा भर पर्न सक्ने अवस्था भने छैन । ‘डाक्टरले ठीक हुन्छ भनेका छन्,’ उनले भनिन्, ‘यसको आमाले पनि छाडेर गई । म पनि बूढी हुँदै गएको छु । ठीक भए पनि यसले गरेरचाहिँ खान सक्दैन होला ।’

विभिन्न संघसंस्थाले खाद्यान्न, लत्ताकपडा, ह्वीलचियर र स्टेसनरी सहयोग गरिरहेको उनले बताइन् । ‘खुट्टाको अप्रेसन गरेको हो, फेरि आउनु भनेका छन्,’ सुनमायाले सुनाइन्, ‘पहिले खुट्टा टेक्नै सक्दैनथ्यो । अहिले भित्ता छामेर अलिअलि हिँड्न सक्छ । दरिएर हिँड्न सक्दैन ।’ सोमबार लक्ष्मणलाई गोरखा नगरपालिका ६ दरबारमार्ग घर भई हाल अमेरिका बस्ने रघु अर्यालले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

उक्त विद्यालयमा ३ कक्षामा पढ्ने ब्लड क्यान्सरपीडित विशाल कुमालको अवस्था पनि दयनीय रहेको विद्यालयले जनाएको छ । ‘विपन्न परिवारको मान्छे हो, जेनतेन उपचार भइरहेको छ,’ प्रअ रुद्र उप्रेतीले भने, ‘ब्लड क्यान्सर भएपछि १ कक्षा पढ्दै गरेको विशाल ३ वर्षसम्म पढ्न आउन सकेन ।’ अहिले उपचार भइरहेको र विद्यालयसम्म आउन भने सकेको उनले बताए । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);