विद्यालयको लत लगाउँदै दिवा खाजा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विद्यालयको लत लगाउँदै दिवा खाजा

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका नर्घोकी दश वर्षीया निलम मण्डल केही समयअघिसम्म विद्यालय जान अल्छी गर्थिन् । विद्यालयको कुरा गर्यो कि लुकिहाल्थिन् । 
तर अहिले उनीलाई बिद्यालय जाउ भन्नै पर्दैन । विद्यालय कति बेला जान पाइन्छ भनेर कुरेर बस्छिन् । बिहान नौ बज्यो कि खुशी हुँदै कितावकापी बोकेर बिद्यालयतर्फ कुदिहाल्छिन् । उनका काका श्यामप्रित मण्डलले भने, ‘बोर्डिङ्ग स्कुलमा भर्ना गरेका थियौं । जति फकाउँदा पनि विद्यालय जान मान्दैन थिइन् । दिक्क भइसकेका थियौं ।’ केही समयअघि स्थानीय सामुदायिक विद्यालयमा त्यहीँ अध्ययनरत दाजु नितेशसँग गइछन् । त्यहाँ सबै विद्यार्थीले दिवा खाजा खाएको देखिछन् । यहाँ पढ्न आए त खाजा पनि खान पाइने रहेछ भन्ने परेछ । त्यसपछि त उनी एक दिन पनि बोर्डिङ स्कुल नगएको काका श्यामप्रितले बताए ।

उनले थपे, ‘उनी मात्रै होइन छिमेकका सबै नानीबाबुलाई सामुदायिक विद्यालयको दिवा खाजाले तानेको छ । रूँदै विद्यालय जाने बालबालिका अहिले खुशी हुँदै जान्छन् ।’
राजविराज नगरपालिका–१ को राजदेवी माविमा कक्षा ४ मा अध्ययनरत दीपक रजक पनि दिवा खाजाको लोभमा बिद्यालय जाने गरेको आमा दुर्गादेवी रजकले बताइन् । उनले भनिन्, ‘दीपकलाई निजी बिद्यालयमा भर्ना गरेका थियौं । विद्यालय जानै मान्दैन्थ्यो । सामुदायिक विद्यालयमा भर्ना गरेदेखि बिद्यालय जाउँ भन्नै पर्दैन् ।’ दिवा खाजाले विपन्न समुदायका बालबालिकालाई विद्यालयको लत नै लगाइदिएको उनको भनाइ छ । 

यसैगरी सप्तरी बिष्णुपुर गाउँपालिकाका स–साना बालबालिका पनि दिवा खाजाको लोभमा विद्यालय जाने गरेको स्थानीय बुलन्ती सदाले बताइन् । उनले भनिन्, ‘मेरो जेठो छोरा सात वर्ष र छोरी पाँच वर्षका भए । उनीहरू दुवै जना नजिकैको सामुदायिक बिद्यालय पढ्छन् । उनीहरूलाई विद्यालय जाउँ भन्नै पर्दैन । उनले भनिन्, ‘विद्यालयमा टिफिनमा नास्ता दिन्छ भन्दै कुद्छन् ।’ उनले आफू पढेलेखा नभएको र छोराछोरी विद्यालयमा पढ्छन् की के गर्छन थाहा नभएको पनि बताइन । तर दिवा खाजाले छोराछोरीलाई विद्यालय जाने लत लागेको उनको भनाइ छ । हाम्रो समुदायका अरु बालबालिका पनि खुशी हुँदै बिद्यालय गएको देख्दा दिवा खाजाको प्रभाव सामुदायिक बिद्यालयमा बढेको महशुस भएको बुलन्तीको भनाइ छ ।

विद्यार्थी पनि बढेका छन् : यादव
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेशप्रसाद यादवले विद्यालयमा दिवा खाजाको सकारात्मक प्रभाव परेको बताए । उनले भने, ‘दिवा खाजा शुरू भएदेखि विद्यालयमा १ देखि ५ सम्मको विद्यार्थीको संख्या बढेको छ ।’

ग्रामीण भेगमा यसको प्रभाव झनै बढेको छ । विद्यार्थीलाई टिकाइराख्न यसले झन सहयोग गरेको अध्यक्ष यादवको बुझाइ छ । विद्यार्थीहरूको टिफिन टाइममा भाग्ने क्रियाकलाप पनि ह्वात्तै घटाएको छ । उनले थपे, ‘खाजाको गुणस्तरीयतामा पनि सम्बन्धित निकायले ध्यान दिनु जरूरी छ । प्रत्येक विद्यार्थीका लागि १५ रूपैयाँको दरले खाजा भत्ता आउँछ । यो एकदमै थोरै हो ।’

स्थानीय नगरपालिका र गाउँपालिकाले पनि यसको रकम दुरुपयोग हुन नदिन अनुगमन गर्न जरुरी रहेको विष्णुपुर गाउँपालिका–६ का मुकेश सदाले बताए । उनले भने, ‘हाम्रो समुदायमा बसोवास गर्ने कति बालबालिकालाई दुई छाक खान पनि समस्या छ । भोक टार्न दिवा खाजाको लोभमा बालबालिका विद्यालय जाने गरेका छन् ।’ किसान र मजदुरी गर्ने परिवार यहाँ बढी छन्, हुनेले पनि समयमा पकाएर दिन सक्ने अवस्था नभएपछि दिवा खाजाले भोक टार्न पनि सहयोग गरेको मुकेश सदाको भनाइ छ । उनी थप्छन्, ‘दिवा खाजामा थप रकम दिएर पौष्टिक खाजामा ध्यान दिन जरुरी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);