किसानको प्रश्न : पाकिसकेको धान खेत अहिले बगर भयो, हामी एक वर्ष के खाएर बाँच्ने ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार

किसानको प्रश्न : पाकिसकेको धान खेत अहिले बगर भयो, हामी एक वर्ष के खाएर बाँच्ने ?

झापा गौरीगञ्ज-१ हुकलबारीका हरि थेबेको मुख्य आम्दानीको स्रोत नै कृषि हो । कृषि पेसामा निर्भर थेबेले पाँच बिघा क्षेत्रमा धान, आलुलगायत बाली लगाएका थिए । खेतीका लागि करिब डेढ लाख खर्च भएको थियो । धान पाक्न लागेको धान खेती अहिले बगर बनेको छ ।

कात्तिक पहिलो साता आएको बेमौसमी बाढीले उनको पाँच बिघा खेतमा माई नदी कुदिरहेको छ । खेती गर्दाको डेढ लाख ऋण त्यसै छ । ‘हाम्रो त जागिर पनि छैन । खेती गरेर नै परिवार पाल्दै आएका छौँ । छोराछोरी पढाउँदै आएका छौँ । ऋण गरेर खेती गरेको थिएँ,’ थेबे भन्छन्, ‘पाँच विघामा खेती गर्न डेढ लाख खर्च भयो । सबै ऋण छ । अब कसरी तिर्ने ?’ 

विघौँ जग्गा अहिले माई नदीको कब्जामा भएपछि किसान चिन्तामा छन् । राज्यले बेलैमा तटबन्ध नगर्दा किसान अब के खाने भन्ने चिन्तामा छन् । ‘साहुले खेती सकियो भन्दा ऋण मिनाहा गर्दैनन् । खाने पनि यही खेती हो, हाम्रो त । खेती हेर्दा अहिले विरक्त लाग्छ । पाकिसकेको धान खेत अहिले बगर भयो । कात्तिकमा यस्तो त सोचेका पनि थिएनौँ,’ थेबे भन्छन्, ‘घरबाट त केही दिन बाढीले विस्थापित गर्‍यो । तर, अब त यो ठाउँबाट नै विस्थापित होइन्छ कि भन्ने डर छ । अब यो वर्ष के खाएर बाँच्ने ?’

हुकलबारीका टेकबहादुर रसाइलीले दुई बिघामा धान लगाएका थिए । धान राम्रो फलेको थियो । यस वर्ष धान बेचेर भएको ऋण तिर्ने सपना बुनेका थिए, टेकबहादुरले । तर, नसोचेको बज्रपात उनीमाथि परेको छ । नसोचेको समयमा आएको बाढीले घर त डुबानमा पार्‍यो नै खेती बगर पनि भयो । खेती गर्न लिएको ९० हजार ऋण अझै तिर्न सकेका छैनन्, उनले ।

घरमा जमेको लेदो पन्साएर घर फर्किए, टेकबहादुर । तर, अब के खाने भन्ने चिन्ता छ । जोहो गरेर राखेको खाद्यन्न पनि बाढीले नष्ट गर्‍यो । उत्पादन गरेको धान पनि बाढीसँगै बग्यो । ‘हामी सधैँका पीडित । कहिले असार-साउनमा बाढी आएर खेती गर्न दिँदैन । कहिले उब्जनी भएको खेत यसरी बगाउँछ । हामी किसानको समस्या कसले बुझ्ने ?,’ उनी भन्छन्, ‘यसपटक चाहिँ राज्यले केही सहयोग गर्छ कि भन्ने आस छ । त्यही पनि के हुने हो थाहा छैन ।’ 

खाने माध्यम खेत नै बगर भएपछि अब कसरी जीवन चलाउने भन्ने चिन्तामा छन्, बाढीपीडित टेकबहादुर । भारत रोजगारीका लागि भएर भए पनि खेती गर्दाको ऋण र एक वर्ष खाने जोहो गर्ने योजनामा छन्, उनी । ‘अब कि यहीँ जनमन गरेको खान्छु । तर, यहाँ जनमन र मजदुरी गरेकोले के पुग्छ होला र ! साहुले यस्तो भयो भन्दा मान्दैनन्, पेट ले पनि घरमा खाना छैन भन्दैनन्,’ टेकबहादुर भन्छन्, ‘चोरेर/डाँटेर खानु हुँदैन । अब भारत गएर कमाएर ल्याएर भए पनि खानुपर्ला नि !’

गौरीगञ्ज-१ का श्यामलाल कोचले एक बिघामा खेती गरेका थिए । जग्गाको नाममा त्यही एक बिघा खेत छ । भत्कन लागेको घर यही खेतमा उब्जाउ भएको धान बेचेर मर्मत थर्ने योजनामा थिए, उनी । तर, उनको सपना चकनाचुर भएको छ । ‘फुसको छानो भएको घर बाढीले झनै बिगारेको छ । भएको सबै खेत बगर भयो । अरू काम पनि पाइँदैन,’ उनी भन्छन्, ‘अब के गर्ने होला ? हामी गरिबमाथि नै किन यस्तो पर्छ ?’ 

गौरीगञ्ज-१ टप्पुबस्तीका बुद्धराय हेमरमले अँधियामा पाँच विघा खेती गरेका थिए । सुकुम्बासी बुद्धरायले गरेको खेती अहिले माई नदीको बगरमा परिणत भएको छ । त्यति मात्र हैन उनको घर माई नदीले बस्नै नहुने गरी क्षतविक्षत बनाएको छ । कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ । ‘अलिअलि राखेको अन्न पनि बाढीले लग्यो । अब कहाँ बस्ने के खाने भन्ने चिन्ता छ । हिजोसम्म अँधिया गरेर भए पनि राम्रै खाएका थियौँ । तर, अब त के खाने ?,’ उनी भन्छन्, ‘हामी सुकुम्बासीको कहीँ केही छैन । अब कहाँ गएर बस्ने ? यो ठाउँ त अब बगर भएको छ । सरकारले खोला तठबन्ध गर्‍यो भने घर फर्किन सकिन्छ । नभए त फेरि ठूलो पानी पर्दा बाढी यतै आउँछ । सरकारले हाम्रा लागि केही गरे त हुने नि !’

गौरीगञ्ज-१ को नदी तटीय क्षेत्र सधैँ बाढी र डुबानको चपेटामा पर्दै आएका छन् । यहाँका स्थानीय प्रत्येक वर्ष बर्खाको समयमा विस्थापित हुने गरेका छन् । यस क्षेत्रका किसानले कहिले खेती लगाउन पाउँदैनन् त कहिले लगाएको खेती पनि उठाउन पाउँदैनन् ।

Leave a Reply