झापामा पाँच प्रतिशत धानमा पूर्ण क्षति, गत वर्षको तुलनामा उत्पादन नघट्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

झापामा पाँच प्रतिशत धानमा पूर्ण क्षति, गत वर्षको तुलनामा उत्पादन नघट्ने

झापा । झापामा बेमौसमी वर्षाले पाँच प्रतिशत धानमा पूर्ण क्षति पुर्‍याएकाे छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा कुल धान खेतीको पाँच प्रतिशत क्षति भएको हो । झापामा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको थियो । जसमध्ये चार हजार ३५० हेक्टर क्षेत्रफलको धान पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । ‘यो गौरीगञ्ज–१ मा धेरै छ । धान खेतीमा बालुवा छ अहिले,’ उनले भने, ‘माई नदी बगिरहेको छ ।’ 

यस्तै, झापामा पूर्ण क्षति पाँच प्रतिशत, मध्यम आठ प्रतिशत, आंशिक पाँच प्रतिशत गरी १६ प्रतिशत बालीमा क्षति भएको उनले बताए । यद्यपि धान उत्पादनमा भने गत वर्षको तुलनामा कमी नआउने कृषि ज्ञान केन्द्रको अनुमान छ । गत वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चार लाख २० हजार मेट्रिक्टन धान उत्पादन भएको थियो । 

यसपटक पनि यो परिमाणमा खासै तलमाथि नआउने ज्ञान केन्द्र प्रमुख सिंहले जानकारी दिए । ‘यसपटक लगाएको धानको १८ प्रतिशतमा बेमौसमी वर्षाले असर गरे पनि उत्पादन खासै घट्दैन । गत वर्ष प्रति हेक्टर चार दशमलव आठ मेट्रिक्टन उत्पादकत्व थियो । यसपटक प्रति हेक्टर पाँच मेट्रिक्टन हुने अनुमान छ,’ उनले भने, ‘मैले सबै फिल्ड आफैँ हेरेको छु । धान राम्रो फलेको छ । एक दुई प्रतिशत कम भए पनि उत्पादनमा खासै कमी आउँदैन ।’  तर, क्षति भएका किसानलाई भने मर्का परेको छ ।

गौरीगञ्ज–१ हुकलबारीका कृषक हरि थेबेले पाँच विगाहा क्षेत्रफलमा धान, आलुलगायत बाली लगाएका थिए । तर, उनको खेतमा अहिले माई नदीको एउटा भंगालो कुदिरहेको छ । ‘हाम्रो त मुख्य पेसा नै कृषि हो । यहाँका एक सय परिवार कृषिमै निर्भर छन्,’ उनी भन्छन्, ‘हाम्रो त जागिर भनेकै यही खेती हो । तर, सबै माई नदीले बगायो । अब एक वर्ष के खाएर बस्ने ? खेती गर्दाको ऋण कसरी तिर्ने ?’

जिल्लाको उत्पादनमा ठूलो क्षति नभए पनि बाढीले क्षति पुर्‍याएको क्षेत्रका धानबाली लगाउने व्यक्तिलाई भने ठूलो क्षति भएको ज्ञान केन्द्र प्रमुख सिंहले बताए । ‘गत वर्षको भन्दा उत्पादनमा त फरक नआउला । तर, व्यक्तिगत रूपमा चार हजार ३५० हेक्टर क्षेत्रफलमा खेती गर्ने किसानलाई ठूलो क्षति भएको छ,’ उनले भने, ‘हामीले लगत संकलन गरेका छौँ । केन्द्र सरकारको प्रतिनिधि कर्मचारीसँग बसेर नै यो डाटा बनाएका हौँ । हामी केन्द्र र प्रदेश दुवै सरकारसमक्ष पुर्‍याउने छौँ ।’

धान उत्पादनमा झापा प्रदेश-१ मै पहिलो हो । यो जिल्ला धान उत्पादनमा आत्मनिर्भर रहेको ज्ञान केन्द्र प्रमुख सिंह बताउँछन् । ‘यहाँ उत्पादनले झापाबासीलाई खान पुग्छ । हामी धान उत्पादनमा आत्मनिर्भर छौँ,’ उनले भने, ‘यहाँबाट काठमाडौं, पोखरालगायत जिल्लामा धान जाने गरेको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);