सिन्धुलीमा धानखेती : क्षेत्रफल बढ्यो, उत्पादन बढेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सिन्धुलीमा धानखेती : क्षेत्रफल बढ्यो, उत्पादन बढेन

सिन्धुली । सिन्धुलीमा बर्खे धानखेतीको क्षेत्रफल बढे पनि उत्पादन भने घटेको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार तुलनात्मक रूपमा जिल्लामा धानखेती हुने क्षेत्रफल बढे पनि उत्पादनमा भने कमी आएको छ ।

केन्द्रका निमित्त प्रमुख श्रीकृष्ण अधिकारीले जिल्लामा गत वर्षभन्दा यसवर्ष धान खेती भएको क्षेत्रफल पाँच सय ८२ हेक्टरले बढेको छ । तर, पनि उत्पादन भने दुई सय ६१.३७ मेट्रिक टनले कमी भएको जानकारी दिए । अधिकारीका अनुसार यसवर्ष जिल्लामा १५ हजार चार सय २३ हेक्टर क्षेत्रफलमा लगाएको धानखेतीबाट ४२ हजार दुई सय ३८.६३ मेट्रिक टन धान उत्पादन भएको छ । गतवर्ष १४ हजार आठ सय ४१ हेक्टर क्षेत्रफलमा लगाएको धान खेतीबाट ४२ हजार पाँच सय मेट्रिक टन उत्पादन भएको थियो । 

उनका अनुसार धान लगाउने बेलामा समयमै पानी परे पनि विभिन्न रोग, किराको संक्रमण, बेमौसमी वर्षाका कारण उत्पादन कमी भएको हो । जिल्लामा बेमौसमी वर्षाले धान खेतीलाई बढी नोक्सानी गरेको उनको भनाइ छ । काटेर थन्काउन राखेको धान वर्षाले भिजाएपछि क्षेति भएको थियो । यसवर्ष धानबालीमा ब्लास्ट रोगले निकै नै क्षति पुर्‍याएकाे थियो । 

‘जिल्लामा धानबालीमा ब्लाष्ट रोगको संक्रमण पनि देखा परेको थियो । केही क्षेत्रको धानबालीमा उक्त रोगले धेरै नै नोक्सानी गरेको थियो । यो रोगको संक्रमण कमलामाई नगरपालिकामा बढी देखा परेको थियो, ‘ उनले भने, ‘जिल्लाको पहाडी भेगमा भने बेमौसमी बर्षाले पनि धानमा क्षेति गरेको थियो । त्यसले पनि यो वर्ष अनुमान गरे अनुसारको उत्पादन भएन ।’ 

बेमौसमी बर्षाको कारण जिल्लामा करिब साढे तीन सय हेक्टर जमिनको धानबाली क्षेति भएको थियो । जिल्लाभर लगभग तीन सय ३३ हेक्टर जमिनको धानबाली क्षेति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । बेमौसमी बर्षाले सबैभन्दा बढी दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका र कमलामाई नगरपालिकामा भएको निमित्त प्रमुख अधिकारीले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);