एजेन्सी, २३ असोज । भारतको राजस्थान राज्यको जयपुरमा २२ जनामा जीका भाइरसको संक्रमण फेला परेको छ ।
भारतको प्रधानमन्त्री कार्यालयले जीका भाइरसको संक्रमण फेरि फैलिन थालेको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै स्वास्थ्य मन्त्रालयसँग यस सम्बन्धी विस्तृत प्रतिवेदन मागेको जनाइएको छ । जयपुरमा जीका भाइरसबाट संक्रमितमध्ये एक जना बिहार राज्य निवासी रहेको बताइएको छ । उनी हालैमात्र बिहारबाट जयपुर पुगेका थिए ।
अधिकारीहरुले यो रोगको संक्रमण बिहारमा पनि फैलिएको हुन सक्ने आशंका गरेका छन् । बिहार सरकारले राज्यका सबै जिल्लामा सतर्कता अपनाउन निर्देशन दिएको छ । जीका भाइरसका कारण केही वर्षअघि विभिन्न मुलुकमा कयौं नागरिक प्रभावित भएका थिए ।
भारतमा भने सन् २०१७ मा पहिलोपटक यो संक्रमण देखिएको थियो । गर्भवती महिलामा यो भाइरसको संक्रमण अधिक खतरनाक मानिन्छ ।