वाइडबडी खरिदमा भएको अनियमितताबारे लेखा समितिले अध्ययन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

वाइडबडी खरिदमा भएको अनियमितताबारे लेखा समितिले अध्ययन गर्ने

nepal airlines

काठमाडौं, ११ असोज । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ ।

समितिको बिहिबार बसेको बैठकमा समितिकी सदस्य धर्मशिला चापागाईले नेपाल बायूसेवा निगमको दुई वटा वाईडबढि विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको आशंका गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र मातहतका सबै निकायलाई छानवीन गर्नुपर्ने बताईन् ।

त्यसैगरी बैठकमा समितिका सदस्यहरुले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमाथि गम्भिर प्रश्न उठाउँदै सो सम्बन्धमा महालेखा परीक्षक टंकमणि शर्मासँग विस्तृत छलफल गर्नुपर्ने बताएका थिए ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमाथि समितिका सदस्यहरुले प्रश्न उठाएपछि सो सम्बन्धमा महालेखा परीक्षक शर्मासँग शुक्रबार छलफल गर्ने निर्णय गरिएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

बैठकमा समितिका सदस्य हृदयेश त्रिपाठीले विश्वविद्यालय अन्तरगतका कतिपय निकायमा लेखा परीक्षण नगरेको पाइएको उल्लेख गर्दै सो सम्बन्धमा महालेखा परीक्षकको कार्यालयको धारणा माग गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

त्यसैगरी समितिका सदस्य प्रेमबहादुर आलेले काठमाण्डौ–नीजगढ द्रुतमार्ग निर्माणमा भ्रष्टाचार भएको आशंका गर्दै सो आयोजनाको हालसम्म पनि विस्तृत अध्ययन प्रतिवेदन समेत तयार नगरिएकोमा आपत्ति जनाए ।

समितिका अर्का सदस्य विशाल भट्टराईले सरकारी निकायमा हुने गरेको भ्रष्टाचारसम्बन्धि विषयलाई छानवीन गर्न विभिन्न उपसमिति बनाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);