सरकारको कार्यशैलीप्रति माधव नेपालको असन्तुष्टी | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

सरकारको कार्यशैलीप्रति माधव नेपालको असन्तुष्टी

काठमाडौं, ११ असोज । सत्तारुढ दलकै शीर्ष नेताले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारका काम कारवाहीमा असन्तुष्टी जनाएका हुन् ।

नातावाद, कृपावाद र अस्वस्थ खेलमा सरकारका निकायको संलग्नताका कारण चोक चोकमा सरकारको व्यापक आलोचना हुने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

मुलुकभरका हत्या हिंसाका घटनामा सरकार र मातहतका निकायको निरिहता र मौनताप्रति पनि उनले असन्तुष्टी जाहेर गरे । मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिने काम भईरहँदा पनि गृह प्रशासन मौन रहेको भन्दै उनले सरकारलाई सुन्ने बानीको विकास गर्न सुझाव दिए ।

सरकारका क्रियाकलापले सत्तारुढ दलकै नेता कार्यकर्ताहरुलाई लज्जास्पद बनाईरहेको उनको भनाइ थियो । सर्वत्र सरकारका कामकारवाहीको विरोध, आलोचना र खिसिट्युरी हुने गरेको भन्दै उनले कामको गम्भीर समिक्षा गर्न सुझाव दिए ।

उनले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने लक्ष्यमा सरकारको निरिहता देखिँदै गएको, जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको चाहाना सम्बोधन गर्न नसकेको तथा शान्ति सुरक्षाको प्रत्याभुति गर्न पनि असफल भएको टिप्पणी गरे ।

कालोसूचीमा परेका र आपराधिक कार्यमा संलग्न नै पुरस्कृत हुनु दुखद भएको भन्दै उनले जनताको जायज र नाजायज मागको निक्र्यौल गर्न सक्ने क्षमता सरकारले राख्नुपर्ने बताए ।

निजगढ विमानस्थल निर्माणका सम्बन्धमा रुख कटानको विषयमा पनि उनले तिब्र असन्तुष्ठी जनाए । जति चाहिन्छ त्यती मात्रै काट्नुपर्ने भन्दै उनले भने “राम्रो काम गर्दा वात नलाग्ने गरि गरियोस् ।”

नेपाललाई आत्मनिर्भर हुन नदिने षडयन्त्रमा मुलुक फस्ने खतरा बढ्दै गईरहेका बेला सरकारकी निकायममा स्वच्छ छविका, इमान्दार र निष्ठावान व्यक्तिहरु राख्न नसकिएको, विभिन्न संबैधानिक निकायमा लामो समय देखि पद रिक्त रहेको प्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

दुईतिहाईको सरकारबाट जनताले ठुलो आशा र अपेक्षा राखेको भन्दै उनले मुलुकको हर समस्या समाधान गर्ने संकल्प र आंटका साथ अघि बढ्न सरकारलाई सुझाव दिए ।