वैदेशिक रोजगारीको पीडा : चार वर्षदेखि कोमामा | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

वैदेशिक रोजगारीको पीडा : चार वर्षदेखि कोमामा

dubai-coma

काठमाडौं, ६ असोज । ‘बिरामीलाई छुन–चलाउन पाइँदैन । टाढैबाट हेर्नुहोला ।’ वार्ड छिर्ने बेला नर्सले फेरि सचेत गराइन्, ‘मास्क र पञ्जा लगाएर मात्रै भित्र जानुस् ।’ वार्ड यति सुनसान थियो कि नर्सको सानो स्वर पनि ठूलो सुनिइरहेको छ ।

म कोठा नम्बर ४ अगाडि उभिएको छु । यसलाई निकै संवेदनशील कोठा मानिएको छ, भित्र ओछ्यानमा निदाइरहेका एक युवकका कारण । नाम कुमार फगामे, उमेर २५ वर्ष । चार वर्ष भयो, कुमार यो ओछ्यानबाट उठेका छैनन् ।

दुवै हात छातीमा टाँसेर उत्तानो पल्टिएका छन् उनी । खुट्टा खुम्चिएका छन् । दाइने बूढी औंलामा एउटा क्लिप जोडिएको छ । क्लिपसँग एउटा सानो तार पनि गाँसिएको छ । त्यो तार प्रेसर नाप्ने यन्त्रमा जोडिएको छ । बायाँ हातमा सलाइन । सबै खाना यही सुईबाट शरीरभित्र जान्छ ।

यो दृश्य हो, दुबईबाट झन्डै तीन सय किमि पश्चिम, मदिनट जायद सेन्टर फर रिहाबिटेसन एन्ड केयरको । कुमारको शरीरमा कतै चोट लागेको देखिन्न । ‘कसैले पहिलोचोटि झ्वाट्ट देख्दा केही भएको छैन जस्तो लाग्छ,’ मदिनट अस्पतालमा कार्यरत स्याङ्जाका विमल पौडेलले भने, ‘अनुहार यस्तो तेजिलो छ । कोमामा छ भन्दा कसले विश्वास गर्छ ?’

विमलको आवाज निस्कनासाथ कुमारले जोड गरी आवाज निकाले । सायद, कुमार विष्णुको आवाज चिन्छन्, उनको भाषा बुझ्छन् । यो अस्पतालमा कुमारले आफ्नै ठानेका मान्छे विष्णु नै होलान्, जसको एक छिनको उपस्थितिले पनि उनको शरीर चलमलाउँछ । ‘म दिन बिराएर कुमारलाई हेर्न आउँछु । कस्तो छ भनेर बोलाउँछु । उसले हेर्छ मात्रै । मलाई देख्नेबित्तिकै आवाज निकाल्छ । हातखुट्टा बटारिन्छन् । केही भन्न खोजेजस्तो लाग्छ । नबोले पनि कुरा बुझ्न सक्छजस्तो लाग्छ,’ विमलले भने । एक छिन कुमारलाई हेरेर विमलले अन्दाज गरे, ‘घर फर्किएर परिवार भेट्ने इच्छा उसलाई पनि होला ।’

कुमारलाई घर फर्काउन उनकी आमा अतिमा झन् व्यग्र छिन् । ५५ वर्षीया उनी जेठो छोरो बिरामी भएको खबर पाएदेखि नै छटपटीमा छिन् । ‘दाइको चिन्ताले आमाको बेहाल भइसक्यो,’ बहिनी धनमाया भन्छिन्, ‘सधैँ दाइ ल्याइदे, ल्याइदे मात्रै भन्नुहुन्छ ।’ अतिमा पर्वतको मोदी गाउँपालिका–४ क्याङ गाउँबाट बाहिर निस्केकी छैनन् । कुमार यूएईमा बिरामी पर्दा उनका भाइ भीम कतारमा थिए । ‘आमा र म काठमाडौं जान सकेनौं, म्यानपावरमा कुरा गर्न आमाले मामालाई पठाउनुभयो,’ धनमायाले सुनाइन्, ‘मामालाई म्यानपावरले अहिले कम्पनीले नै उपचार गरिरहेको बताएपछि फर्किनुभयो ।’

आमाको अवस्था बिग्रँदै गएपछि कतारबाट कान्छा छोरा भीम फर्के । अहिले उनी घरै बसेर आमाको रेखदेख गरिरहेका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार