महानगरलाई दशैंको चटारो, खसीबोकाको स्वास्थ्य परीक्षण गरिने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

महानगरलाई दशैंको चटारो, खसीबोकाको स्वास्थ्य परीक्षण गरिने

khasi-boka

काठमाडौं, ६ असोज । नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौंलगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशु–पक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको जनाएको छ।

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी, बोका, राँगा, भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ। महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सोहीअनुरूप खसी, बोका खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कामपाले मासु खाने प्रयोजनका लागि ल्याइएको चौपायको दशैंबाहेक अरू कुनै पनि समयमा स्वाथ्य परीक्षण गर्ने गरेको छैन। धेरै संख्यामा खसीबोकाको खरिदबिक्री हुने भएकाले दशैंमा राजधानी भित्रिने सबै खसी–बोकाको स्वाथ्य परीक्षण गर्ने गरेको छ।

कामपाले गतवर्ष जस्तै यो वर्ष पनि घटस्थापनाको भोलिपल्ट अर्थात् असोज २५ गतेदेखि खसीबोकाको स्वास्थ्य परीक्षण शुरू गर्ने भएको छ। कामपा शहरी स्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले राजधानीको ४ स्थानमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने जानकारी दिए।

भेटेनरी चिकित्सक, कामपा, जिल्ला प्रशासन कार्यालयलगायतको संयोजनमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने जानकारी गराउँदै महाशाखा प्रमुख श्रेष्ठले खसीबोका परीक्षण गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

महाशाखाका अनुसार कलंकी, कोटेश्वर, बागबजार र बिजुली बजारस्थित खसीबोका बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने भएको छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।