चितवनका खसी-बोकाले दशैँमा ५० प्रतिशत मात्र माग धान्ने, मासुको मूल्य नबढ्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चितवनका खसी-बोकाले दशैँमा ५० प्रतिशत मात्र माग धान्ने, मासुको मूल्य नबढ्ने

चितवन । नेपालीहरूको मुख्य चाड दशैँ नजिकिँदै गएको छ । दशैँका लागि भनेर जिल्लामा उत्पादित खसी-बोकाको मासुले भने ५० प्रतिशत मात्र माग धान्ने देखिएको छ । यहाँ उत्पादन भएका राम्रा र सर्लक्क हुर्किएका खसी बोका काठमाडौं, पोखरालगायतका शहरमा जाने भएकाले यहाँका व्यापारीले बाहिरी जिल्लाबाट खसी-बोका ल्याउने गरेका छन् ।

जिल्लाका पहाडी भेग चण्डीभन्ज्याङ, शक्तिखोर, कोराकलगायतका स्थानबाट व्यवसायीले खसी बोका ल्याउने गर्छन् । जिल्लाको उत्पादनले ५० प्रतिशत मात्र माग धान्ने खसी-बोका मासु व्यवसायी संघ चितवनका महासचिव गणेश कँडेल बताउँछन् ।

बाँकी ५० प्रतिशत खसी बोका नवलपरासी, धादिङ, गोर्खालगायतका जिल्लाबाट ल्याउनुपर्ने उनले बताए । भारतबाट खसी-बोका ल्याउन रोक लगाइएको छ । भारतीय खसी-बोकामा लागेका रोगहरू नेपालमा समेत फैलिने डरका कारण भारतीय खसी-बोका ल्याउन रोक लगाइएको हो । तर पनि लुकिछिपी भारतबाट ल्याउने गरिएको छ । 

जिल्लामा यस पटकको दशैँमा दैनिक एक हजारवटा खसी-बोका अर्थात् १५ हजार किलोसम्म मासु खपत हुने संघको अनुमान छ । अहिले सोह्रश्राद्ध जारी रहेका बेला पनि जिल्लामा दैनिक चार हजार ५०० किलो मासु बिक्री भइरहेको संघका महासचिव कँडेल बताउँछन् ।

‘घटस्थापनादेखि दशैँको दिनसम्म जिल्लामा दैनिक १५ हजार किलो मासु खपत हुने अनुमान गरेका छौँ’, उनी भन्छन्, ‘दशैँका लागि व्यवसायीहरुले खसी-बोका खरिद गर्ने तयारीमा छन् ।’ सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा दशैँका लागि खसी-बोका झार्ने काम सुरु हुने उनले बताए ।

मासुको मूल्य नबढ्ने

दशैँको मुखमा खाद्यान्नहरूको मूल्य बढ्दै गर्दा खसी-बोकाको मासुको मूल्य भने नबढ्ने भएको छ । कोरोना महामारीका कारण उपभोक्ता पनि आर्थिक मारमा परेकाले खसी-बोका मासु व्यवसायी संघ चितवनले यस पटकको दशैँमा मासुको मूल्य नबढाउने निर्णय गरेको हो ।

खसी-बोका मासु व्यवसायी संघ चितवनका अध्यक्ष उद्धव तिमिल्सिनाले खसी-बोकाको मासुको मूल्य नयाँ निर्धारण नभएकाले पुरानैलाई निरन्तरता दिइने बताए । मूल्य निर्धारणका लागि किसानका समूहले व्यवसायीहरूलाई बोलाएका थिए । संघले मूल्य निर्धारण गरे पनि किसानले काठमाडौं र पोखराका व्यापारीलाई महँगोमा बिक्री गर्ने भएकाले संघले मूल्य निर्धारण नगरेको उनले बताए । 

काठमाडौंका व्यापारीले किसानलाई खसी-बोकाको मूल्यमा प्रतिकिलो १०० रुपैयाँसम्म बढी दिने गर्छन् । बढी मूल्य पाउने भएपछि किसानले राम्रोसँग हुर्किएका खसी-बोका छानीछानी बिक्री गर्छन् । छानेर बाँकी रहेका खसी-बोका यहाँका व्यापारीले किन्नुपर्ने भएकाले पनि मूल्य निर्धारणमा संघ नगएको उनी बताउँछन् । 

बजारमा अहिले खसी-बोकाको मासु बोसोरहित प्रतिकिलो एक हजार २०० र बोसोसहित प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री भइरहेको छ । पछिल्लो एक वर्षदेखि मासुको मूल्य नबढेको उनी बताउँछन् । महामारीले उपभोक्तालाई पारेको प्रभावलाई मध्यनजर गर्दै बजार भाउभन्दा १०० रुपैयाँ सस्तोमा मासु बिक्री गरिरहेको उनले बताए ।

‘महामारीले हामीलाई जस्तै उपभोक्तालाई पनि असर गरेको छ । त्यही सोचेर मैले गएको १ वैशाखदेखि नै बजार भाउभन्दा १०० रुपैयाँ सस्तोमा मासु बेचिरहेको छु’, उनले भने, ‘यसपालिको दशैँमा ज्युँदो खसी-बोकाको मूल्य बढे पनि मासुको मूल्य बढ्दैन । मूल्य नबढाउन संघका सदस्यहरूलाई पनि भनेका छौँ ।’

खसी-बोका मासु व्यवसायी संघ चितवनमा १०० भन्दा बढी व्यवसायी आबद्ध छन् । संघबाहिर करिब २०० व्यवसायी रहेको अनुमान छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);