काठमाडौं, ६ असोज । कतिपय गाउँ तथा सहरहरूमा जताततै विभिन्न रोगव्याधी सजिलै निको पार्ने विज्ञापन पोतिएको हामी देख्छौं। घर, पर्खाल, सत्तल, पाटी आदिमा लेखिएका यी विज्ञापन लोभलाग्दा हुन्छन्। किनकि यस्ता विज्ञपानमा पाइल्स, फिसर, फिस्टुलादेखि मधुमेह र क्यान्सरसम्म ‘बिनाचिरफार’ जरैदेखि उखेल्ने दाबी गरिएका हुन्छन्। यिनै आकर्षक विज्ञापनको भ्रमजालमा परेर धेरै बिरामी गलत उपचार पद्धति अपनाउन पुग्छन्।
जनस्वास्थ्यविद् नविता रेग्मी शर्मा भन्छिन्, ‘विराटनगर–जोगबनीको बाटोमा हामीले यस्ता धेरै विज्ञापन देख्यौं र हास्यौं । तर, नियामक निकाय गम्भीर नहुँदासम्म बिरामीलाई यी विज्ञापनले तानिरहने छन्।’
यस्तै उपचार अपनाउँदा पाइल्स रोग जटिल अवस्थामा पुगेपछि धादिङका एक युवक अन्ततः राजधानीको पाटन अस्पताल आइपुगे । अस्पतालका जनरल एन्ड लेप्रोस्कोपिक सर्जन डा. प्रभाकर साहकहाँ आइपुग्दा २४ वर्षीय ती युवकको अवस्था निक्कै नाजुक भइसकेको थियो । उनको दिसा गर्ने नलीमा पलाएको नसाको गुजुल्टो (पाइल्स) बाट निरन्तर रगत बगिरहेको थियो । स्वस्थ अवस्थामा रगतमा १४ देखि १७ सम्म हुने हेमोग्लोबिनको मात्रा घटेर ४ दशमलव ६ मा झरिसकेको थियो।
एकातिरबाट रगत चढाउँदा अर्कातिरबाट बग्ने गम्भीर अवस्थाका बीच बिरामीको उपचार सुरु गरियो। केही दिनमा उनी निको भएर घर फर्के । माथि नै भनियो, पाटन अस्पताल उनी अन्तिम अवस्थामा आइपुगेका थिए । थोरै खर्चमा अनि सद्दे शरीर चिरफार गर्नु नपर्ने गरी रोग निको हुने लोभमा उनी काठमाडौंमै लेजर प्रविधिको उपचारमा सामेल भएका थिए।
‘ठूलो अस्पतालमा जाँदा डाक्टरहरूले अपरेसन नै गर्दिन्छन् कि भन्ने त्रासले सेकाएरै उपचार गराउन खोजें । कुनैकुनै बेला रोग बिसेक भएको जस्तो पनि लाग्थ्यो । तर, पछि एक्कासि बल्झेर आयो । रगत त थामिनसक्नु गरी बग्याबग्यै ग¥यो । केही सीप नलागेर अन्तिममा अस्पतालमा आएँ,’ ती युवकले भने।
पाटन अस्पतालका डाक्टर साहसम्म आइपुगुन्जेल उनको पाइल्स निक्कै ठूलो भइसकेको थियो । ‘धेरै रगत बगेर नअत्याएको भए, सायद उनी अझै केही दिन लेजर प्रविधिकै भर पर्ने थिए,’ ती युवकका आफन्तले भने, ‘धन्न ढिलै भए पनि बुद्धि पलायो र बेलैमा अस्पताल आए ।’ लेजर प्रविधिबाट उपचार गर्ने काठमाडौंका यस्ता अवैध केही उपचार केन्द्र सरकारले केही दिनअघि बन्द गराएको छ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।




