मोरङ, २७ भदौ । बुढीगंगा गाउँपालिका २ अमाहीमा एक महिलाले नाबालक दुई छोरालाई झुन्ड्याएर आत्महत्या गरेकी छन् । डोरी चुँडिएर एक छोरा भने बाँच्न सफल भएका छन् ।
स्थानीय २९ वर्षीया कविता यादवले जेठो छोरा १० वर्षीय निशान र कान्छो ५ वर्षीय अमनलाई झुन्ड्याएर आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरको बलोमा नरिवलको डोरीमा झुन्डिएका कविता र अमनको मृत्यु भएको छ । निशान डोरी चुँडिएर बाँचेका हुन् । उनको विराट मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले दुवै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि आमाले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । बिहान साढे १० बजे प्रहरी घटनास्थल पुग्दा कान्छो छोरा अमन र कविता बलोमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
निशानलाई झुन्ड्याएको डोरी चुँडिएर भुइँमा लडेको अवस्थामा भेटिएको एसपी केसीले बताए । ‘घटनास्थलको प्रकृति हेर्दा आमाले आत्महत्या गर्नुअघि दुवै छोरालाई झुन्ड्याएर हत्या गर्न खोजेको देखिन्छ,’ उनले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ ।’
बिहान १० बज्दा पनि घरमा चहलपहल नदेखेपछि छिमेकी हेर्न जाँदा ढोका बन्द थियो । स्थानीय सावित्री यादवले पछि टोलका मान्छेहरू आँगनमा जम्मा भएर हल्ला हुन थालेपछि कविताका जेठो छोरा निशान घरभित्र रुन थालेको आवाज सुनेको बताइन् । भित्रबाट ढोका बन्द गरिएको घरमा बच्चा रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।