काठमाडौं, ९ भदौ । कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारलाई दवाव दिँदै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी तत्काल कडा कार्वाही गर्न सरकारलाई दवाव दिन शनिबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध -यालीसहितको प्रदर्शन गरिएको छ ।
प्रर्दशनकारीहरुले बलात्कार गर्नेमाथि फाँसी दिने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रदर्शनमा महिला हिंसा, बलात्कार, हत्या लगायतका घटना दिनप्रतिदिन बढि रहँदा पनि शान्ति सुरक्षाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिएको छ ।
त्यसक्रममा प्रर्दशनकारीहरुले नयाँ बानेश्वर चोकमा कञ्चनपुरकी किशोरी पन्तको हत्या भएको घटनालाई लक्षित गरेर सडक नाटक पनि प्रस्तुत गरेका थिए ।
उता, कञ्चनपुरमा पन्तको हत्याराको कार्वाहीको माग गर्दै भईरहेको विरोध प्रर्दशनले हिंसात्मक रुप लिएपछि सरकारले संयमित हुन त्यहाँका सर्वसाधारणलाई अपिल पनि गरेको छ । यता, शुक्रबार संघीय संसद र सरकारले पनि महिला हिंसा अन्त्य गर्ने संकल्प गरेका छन ।